Nidan Media

चट्याङ लागेर गोठालाको मृत्यु

जुम्ला । जुम्लामा बुधबार साँझ परेको चट्याङले एक युवाको ज्यान लिएको छ भने दुई जना घाइते भएका छन्। चट्याङका कारण विभिन्न स्थानमा चौपायाको पनि क्षति भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार हिमा गाउँपालिका–२ का १९ वर्षीय रवीन्द्र रावतको छोटा खर्क पाटनस्थित एनसेल टावर नजिक भेडा चराइरहेका बेला चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो।

उक्त घटनामा सोही वडाका २० वर्षीय बलबहादुर रोकाया र ३५ वर्षीय जगत रोकाया घाइते भएका छन्। प्रहरीका अनुसार दुवै जनाको अवस्था सामान्य रहेको छ।

चट्याङमा परी केही भेडाबाख्रा पनि मरेका छन्। यद्यपि कति सङ्ख्यामा चौपाया मरे भन्ने यकिन हुन नसकेको र त्यसबारे विवरण सङ्कलन तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस्तै, चन्दननाथ नगरपालिका-१० स्थित बोहरागाउँको सिद्धि गणेश सामुदायिक वन क्षेत्रमा पनि बुधबार परेको चट्याङका कारण १२ वटा खसी र बाख्रा मरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

मनसुनको समयमा चट्याङका घटना बढ्ने भएकाले मौसम प्रतिकूल भएका बेला खुला मैदान, डाँडाकाँडा, अग्ला रुख तथा टावर आसपास नबस्न र सुरक्षित स्थानमा आश्रय लिन विज्ञहरूले आग्रह गरेका छन्।

एक क्षणको सावधानीले अमूल्य जीवन जोगाउन सकिने भएकाले मौसमसम्बन्धी सूचनामा विशेष ध्यान दिनुपर्ने आवश्यकता पनि यस घटनाले स्मरण गराएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.