काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एन्फामा भएको सरकारी तथा बाह्य हस्तक्षेपकै कारण यस्तो अवस्था सिर्जना भएको आरोप लगाउँदै खेल संस्थाहरूलाई स्वतन्त्र रूपमा सञ्चालन हुन दिनुपर्ने बताएका छन्।
नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले खेलकुद क्षेत्रमा राजनीति होइन, योग्यता, क्षमता र निष्पक्ष प्रतिस्पर्धाका आधारमा अवसर प्रदान गर्नुपर्नेमा जोड दिए।
उनले खेलाडीको क्षमता पहिचान गरी सोही विधामा प्रशिक्षण र प्रोत्साहन गर्नुपर्ने उल्लेख गर्दै क्षमता नभएको क्षेत्रमा जबर्जस्ती अघि बढाउँदा अपेक्षित नतिजा नआउने बताए।
खेलाडीलाई पर्याप्त पोषण, गुणस्तरीय प्रशिक्षण र शारीरिक विकासका लागि आवश्यक वातावरण उपलब्ध गराउनु राज्यको दायित्व भएको उल्लेख गर्दै उनले सरकार त्यसतर्फ अझ जिम्मेवार बन्नुपर्ने धारणा राखे।
ओलीले खेलाडीले आधारभूत आवश्यकता नपाएर कमजोर बन्ने अवस्था अन्त्य गर्नुपर्ने बताउँदै सरकारकै हस्तक्षेपका कारण एन्फा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिबन्धको स्थितिमा पुगेको आरोप लगाए।
उनले यस्तो अवस्थाको अन्त्य गर्दै नेपाली खेलकुदलाई नयाँ उचाइमा पुर्याउन सबै पक्षले जिम्मेवार ढंगले काम गर्नुपर्ने आवश्यकता औँल्याए।
खेलकुदले समाजको शारीरिक तथा मानसिक स्वास्थ्य, सभ्यता, संस्कृति र समग्र विकासको स्तर प्रतिबिम्बित गर्ने महत्वपूर्ण माध्यम भएको बताएका छन्।
ओलीले विश्व फुटबलमा नेपालभन्दा साना तथा विकासशील मुलुकहरूले उल्लेखनीय सफलता हासिल गरिरहेका बेला नेपाली फुटबल भने अन्तर्राष्ट्रिय प्रतिबन्धको अवस्थासम्म पुगेकोप्रति दुःख व्यक्त गरे।
उनले खेलकुदले समाजको अवस्था, संस्कार र विकासको स्तर झल्काउने उल्लेख गर्दै नेपालले खेल क्षेत्रलाई व्यवस्थित बनाउन नसकेको टिप्पणी गरे।
विश्व फुटबलमा साना तथा विकासशील राष्ट्रहरूले उत्कृष्ट प्रदर्शन गरिरहे पनि नेपाल फुटबल संघ (एन्फा) अन्तर्राष्ट्रिय प्रतिबन्धको अवस्थामा पुग्नु दुर्भाग्यपूर्ण भएको उनको भनाइ थियो।




