काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमा पार्टीले धक्का व्यहोरे पनि एमाले समाप्त नभएको भन्दै पुनः सशक्त रूपमा उठ्ने बताएका छन्।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आइतबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले एकताबद्ध, सुदृढ र अझ सुदृढ बन्दै जाने दाबी गरे।
निर्वाचनको परिणामलाई ‘धक्का’का रूपमा चित्रण गर्दै उनले त्यसलाई अन्त्यको संकेतका रूपमा नलिन आग्रह गरे। एमाले पुनः संगठित भएर प्रतिक्रियावादी शक्तिहरूलाई लोकतान्त्रिक र शान्तिपूर्ण ढंगबाट पराजित गर्ने उनको भनाइ थियो।
‘नेकपा एमाले एकताबद्ध छ, एकताबद्ध रहनेछ, सुदृढ छ र अझ सुदृढ हुनेछ। अहिले चुनावमा हामीले धक्का खाएका छौं, यो धक्का हो तर हामी समाप्त भएका छैनौं। धक्का खानु र समाप्त हुनु एउटै कुरा होइन। हामी अहिले लडेका छौं, तर मरेका होइनौं। फेरि उठ्छौं। फेरि उठेर प्रतिक्रियावादीहरूसँग लड्छौं र पराजित गर्छौं,’ ओलीले भने।
उनले एमाले विध्वंसको बाटोमा नभई रचनात्मक, लोकतान्त्रिक र शान्तिपूर्ण माध्यमबाट अग्रगामी परिवर्तनका लागि अघि बढ्ने स्पष्ट पारे।
‘हामी विध्वंसको बाटोबाट होइन, रचनात्मक बाटोबाट, शान्तिपूर्ण बाटोबाट अग्रगामी परिवर्तनतर्फ अघि बढ्छौं। पश्चगामी र प्रतिगामी षड्यन्त्रहरूलाई पराजित गर्दै, धक्का पन्छाउँदै फेरि धुलो टकटक्याएर उठ्छौं। हाम्रो विजय अवश्यम्भावी छ,’ उनले भने।
अध्यक्ष ओलीले पार्टीभित्र एकता, अनुशासन र संगठन सुदृढीकरणमा जोड दिँदै आगामी दिनमा एमाले अझ बलियो राजनीतिक शक्तिका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे।




