काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को अन्तिम खेलको पहिलो हाफ सकिँदा अर्जेन्टिनाले जोर्डनविरुद्ध २-० को अग्रता बनाएको छ।
खेलको १९औँ मिनेटमा जियोभानी लो सेल्सोले उत्कृष्ट फ्रि-किकमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।
त्यसपछि ३२औँ मिनेटमा लाउटारो मार्टिनेजले अर्को गोल थप्दै पहिलो हाफमै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए।
अर्जेन्टिनाले पहिलो हाफभर बलमाथि स्पष्ट नियन्त्रण राख्दै जोर्डनमाथि लगातार दबाब सिर्जना गरेको थियो।
जोर्डनका गोलरक्षक याजिद अबुलाइलाले केही उत्कृष्ट बचाउ गरे पनि टोलीलाई दुई गोल खानबाट जोगाउन सकेनन्।
यस खेलमा अर्जेन्टिना कप्तान लियोनल मेसीबिनै मैदानमा उत्रिएको छ। समूह चरणका पहिलो दुई खेल जितेर नकआउट चरणमा स्थान सुरक्षित गरिसकेकाले मुख्य प्रशिक्षक लियोनल स्कालोनीले मेसीलाई आराम दिएका हुन्।
अर्जेन्टिनाले यसअघि समूह चरणका आफ्ना दुवै खेल जित्दै नकआउट चरणमा स्थान पक्का गरिसकेको छ। त्यसैले टोली दबाबमुक्त रूपमा जोर्डनविरुद्ध मैदानमा उत्रिएको हो।
यता, लगातार दुई खेलमा पराजित भएको जोर्डनका लागि भने यो खेल ‘गर या मर’को अवस्थामा छ। आजको खेलमा पराजित भए जोर्डनको विश्वकप यात्रा समूह चरणमै टुंगिनेछ।




