Nidan Media

रास्वपा महामन्त्रीमा विपिन आचार्यलाई बलियो समर्थन, रञ्जु दर्शनाले पनि फिर्ता लिइन् उम्मेद्वारी

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा महामन्त्री पदको प्रतिस्पर्धा रोचक बन्दै गएको छ। महामन्त्री पदकी उम्मेद्वार रञ्जु दर्शनाले आफ्नो उम्मेदवारी फिर्ता लिँदै विपिन आचार्यलाई समर्थन गर्ने घोषणा गरेकी छन्।

शुक्रबार महाधिवेशनस्थल चितवनमा पत्रकार सम्मेलन गर्दै दर्शनाले आफूले उम्मेद्वारी फिर्ता लिएको र अब आफ्नो समर्थन तथा मत विपिन आचार्यलाई रहने बताइन्।

यसअघि महामन्त्रीका अर्का उम्मेद्वार गणेश पराजुली, प्रमोद न्यौपाने र कविन्द्र बुर्लाकोटीले पनि उम्मेद्वारी फिर्ता लिँदै आचार्यलाई समर्थन गरेका थिए।

यस्तै शिशिर खनाल र जगदीश खरेलले पनि यसअघि नै महामन्त्रीको दाबी छाडेका थिए। उम्मेद्वारी घोषणा गरेका राजुनाथ पाण्डेले पनि अन्तिम समयमा आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन्।

लगातार उम्मेद्वारहरू आचार्यको पक्षमा खुलेसँगै महामन्त्रीको प्रतिस्पर्धामा उनको स्थिति थप बलियो बनेको राजनीतिक वृत्तमा चर्चा छ।

अहिलेसम्म महामन्त्री पदका लागि विपिन आचार्य, मनिष झा, सागर ढकाल र गणेश कार्की प्रतिस्पर्धामा छन्।

रास्वपाको महाधिवेशनमा पदाधिकारी चयनका लागि मतदान प्रक्रिया जारी रहेकाले अन्तिम परिणामले पार्टीको भावी संगठनात्मक नेतृत्वको दिशा तय गर्ने अपेक्षा गरिएको छ।

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.