Nidan Media

रास्वपाको महाधिवेशनका कारण फेरि सर्‍यो प्रतिनिधिसभा बैठक [सूचनासहित]

काठमाडौँ । प्रतिनिधिसभाको बैठक पुनः स्थगित भएको छ। शुक्रबार दिउँसो १ बजे बस्ने तय भएको बैठक विशेष कारण देखाउँदै शनिबार (असार १३ गते) बिहान ११ बजेका लागि सारिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

यसअघि बिहीबार बस्ने तय भएको बैठक पनि स्थगित गरेर शुक्रबारका लागि सारिएको थियो। लगातार दोस्रो पटक बैठक सारिनु चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनसँग जोडेर हेरिएको छ।

रास्वपाको महाधिवेशन गत आइतबारदेखि चितवनमा जारी छ। नयाँ नेतृत्व चयनका क्रममा निर्वाचन प्रक्रिया, मतगणना र अन्य व्यवस्थापकीय विवादका कारण महाधिवेशन शुक्रबारसम्म पनि जारी रहेको छ।

रास्वपाका सभापति तथा उपप्रधानमन्त्रीसमेत रहेका नेता संसद्मा उपस्थित हुन नसक्ने अवस्था र महाधिवेशनकै व्यस्ततालाई मध्यनजर गर्दै बैठक सारिएको चर्चा भए पनि सङ्घीय संसद् सचिवालयले जारी गरेको सूचनामा भने बैठक स्थगित हुनुको कारण ‘विशेष कारण’ मात्र उल्लेख गरिएको छ।

सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनाअनुसार प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठक असार १३ गते शनिबार बिहान ११ बजे बस्ने गरी निर्धारण गरेका हुन्।

यस्तो छ सूचना

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.