काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले मुलुकभर विपद् व्यवस्थापन तथा प्रतिकार्यलाई प्रभावकारी बनाउन १ लाख ६८ हजारभन्दा बढी विपद् सूचक (स्वयंसेवक) परिचालन गरेको जनाएको छ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीले संगठनको विपद् व्यवस्थापन रणनीति र हालसम्मका प्रयासबारे जानकारी दिएका हुन्।
उनका अनुसार सूचीकृत स्वयंसेवकहरूले विपद्सम्बन्धी सूचना संकलन, जोखिम पहिचान तथा प्रतिकार्य योजना निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। प्रधान कार्यालय तथा जिल्लास्थित कार्यालयहरूले नियमित रूपमा ‘र्यान्डम स्याम्पलिङ’ मार्फत स्वयंसेवकहरूसँग सम्पर्क र समन्वय गर्दै आएको उनले बताए।
स्वयंसेवकबाट प्राप्त सूचनाका आधारमा सशस्त्र प्रहरीले विपद् प्रतिकार्य योजना थप प्रभावकारी बनाएको दाबी गरेको छ। तराई क्षेत्रमा हुने बाढी तथा डुबानको जोखिमलाई ध्यानमा राख्दै अस्थायी र स्थायी प्रकृतिका विपद् प्रतिकार्य बेससमेत स्थापना गरिएको जनाइएको छ।
प्रवक्ता कार्कीका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, राष्ट्रिय विपद् कार्य सञ्चालन केन्द्र लगायतका निकायसँग सशस्त्र प्रहरीका कर्मचारीले २४सै घण्टा समन्वय गरिरहेका छन्। विपद्को समयमा समुदाय नै पहिलो उद्धारकर्ता हुने भएकाले सामुदायिक सचेतना र पूर्वतयारीमा विशेष जोड दिइएको उनले बताए।
‘हामीले १ लाख ६८ हजारभन्दा बढी विपद् सूचकहरूको लगत राखेका छौँ, जसले स्वतःस्फूर्त रूपमा स्वयंसेवा गरिरहनुभएको छ। केही सीमित पालिकाहरूले उनीहरूका लागि सञ्चार खर्च व्यवस्थापन गरेको पाइए पनि अधिकांशले कुनै अपेक्षाबिना नै सूचना प्रवाहमा सहयोग गरिरहनुभएको छ,’ कार्कीले भने।
जलजन्य विपद्को तुलनामा आगलागी नियन्त्रणका विषयमा कम चर्चा हुने गरेको जनगुनासोप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले प्राप्त सुझावका आधारमा आगामी तयारीलाई थप सुदृढ बनाइने बताए।
प्रवक्ता कार्कीले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सञ्चारमाध्यमको रचनात्मक सुझाव र सहकार्य आवश्यक रहेको पनि उल्लेख गरे।





