म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ महभिरस्थित बेनी-जोमसोम सडकखण्डमा पहिरोले ईभी गाडी पुरिँदा चालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार बुधबार राति करिब ८ बजे सडकमाथिबाट खसेको पहिरोले गुडिरहेको ईभी गाडी पुरिएको थियो।
घटनामा गाडी चालक पर्साको वीरगञ्ज महानगरपालिका-२१ निवासी २३ वर्षीय सोहेल मियाको मृत्यु भएको हो।
घटनापछि जिल्ला प्रहरी कार्यालय म्याग्दी र सशस्त्र प्रहरी बलको गुल्म हेडक्वार्टर म्याग्दीबाट संयुक्त उद्धार टोली परिचालन गरिएको थियो।
टोलीले गाडीभित्र पुरिएका मियालाई उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल बेनी पुर्याएको थियो।
तर अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको म्याग्दी प्रहरीले जनाएको छ।
पहिरोका कारण बेनी-जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
सडक खुलाउन सम्बन्धित निकायले पहिरो पन्छाउने काम गरिरहेको प्रहरीले जनाएको छ।





