Nidan Media

विकास, व्यवसाय र मानव अधिकारबीच सन्तुलन आवश्यक

काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले विकास, व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै सन्तुलनमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

बुधबार काठमाडौँमा आयोजित ‘व्यवसाय र मानव अधिकारसम्बन्धी राष्ट्रिय संवाद’ कार्यक्रममा बोल्दै अध्यक्ष मगरले मानव अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने मुख्य दायित्व सरकारको भएको स्पष्ट पारे ।

उनका अनुसार व्यवसाय सञ्चालन गर्दा कुनै पनि किसिमबाट मानव अधिकार हनन हुन नदिन सरकारले प्रभावकारी निगरानी र व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

साथै, व्यवसायीहरूले पनि आफ्नो व्यवसाय सञ्चालन गर्दा मानव अधिकारको सम्मानलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए ।

अध्यक्ष मगरले मानव अधिकार उल्लंघनका घटनामा आयोगले आवश्यक छानबिन गर्दै दोषीलाई कारबाहीका लागि सरकारलाई निर्देशन दिने काम निरन्तर गरिरहेको जानकारी दिए ।

अध्यक्ष मगरले विकास र पूर्वाधार निर्माणका क्रममा आदिवासी जनजाति समुदायका अधिकारको सम्मान हुनुपर्नेमा पनि जोड दिए ।

कतिपय विकास आयोजनाका कारण स्थानीयको भोगाधिकार, परम्परागत अधिकार तथा संस्कार प्रभावित हुने गुनासो आयोगमा आउने गरेको उनले बताए ।

उनले उपभोक्ताको मानव अधिकार पनि कुनै पनि अवस्थामा हनन हुन नदिन सरकार सचेत हुनुपर्ने बताए ।

विकास, व्यवसाय र मानव अधिकारबीच सन्तुलन कायम गर्न सके मात्रै दिगो र न्यायपूर्ण विकास सम्भव हुने अध्यक्ष मगरको भनाइ छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.