Nidan Media

पोखरामा एक सय ९२ ओटा मोटरसाइकल नियन्त्रण

पोखरा। जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको “अपरेसन ३६५” अन्तर्गत पोखरा महानगरका विभिन्न स्थानबाट एक सय ९२ ओटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका युनिट र ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले गरेको विशेष चेकजाँच अभियानका क्रममा ती मोटरसाइकल नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार कागजात अपूर्ण भएका, नियमविपरीत सञ्चालन गरिएका तथा ट्राफिक नियम उल्लंघन भएका सवारीसाधनलाई लक्षित गरी चेकजाँच गरिएको हो।

शान्ति-सुरक्षा कायम राख्ने, सडक अनुशासन सुधार गर्ने तथा अवैध गतिविधि नियन्त्रण गर्ने उद्देश्यसहित “अपरेसन ३६५” सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वीरेन्द्र कुमार पासवानका अनुसार नियन्त्रणमा लिइएका सवारीसाधन आवश्यक कागजात परीक्षण तथा कानूनी प्रक्रिया पूरा भएपछि मात्र सम्बन्धित धनीलाई फिर्ता गरिनेछ।

प्रहरीले आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिँदै ट्राफिक नियम उल्लंघन तथा अवैध सवारी सञ्चालनविरुद्ध कडा निगरानी गर्ने चेतावनी दिएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.