Nidan Media

देशभर मौसममा मिश्रित प्रभाव: कतै वर्षा र हिमपात, कतै तातो लहरको सम्भावना

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न भूभागमा मौसममा विविधता देखिने भएको छ । मौसम पूर्वानुमान महाशाखाले दिउँसो र राति दुवै समयमा कतिपय स्थानमा बदली, वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभाग, लुम्बिनी प्रदेशका हिमाली भूभाग तथा कोशी प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहनेछ । लुम्बिनी प्रदेशका पहाडी भूभाग र मधेश प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य तराई भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।

कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ ।

यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा एक-दुई स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

कोशी प्रदेशका तराई क्षेत्रमा थोरै स्थानमा तथा मधेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ । साथै, कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी समेत दिइएको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा केही स्थानमा तातो लहरको प्रभाव रहने अनुमान गरिएको छ । बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा तातो दिनको अवस्था रहने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

राति कोशी प्रदेशमा साधारणतया बदली रहनेछ भने मधेश प्रदेश र अन्य हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने अनुमान छ ।

तराई भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा वा हिमपातको सम्भावना राति पनि कायम रहने महाशाखाले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.