काठमाडौँ । विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा मेक्सिको र दक्षिण कोरिया पहिलो हाफसम्म गोलरहित बराबरीमा रोकिएका छन्।
एस्टाडियो ग्वाडालाहारामा भएको खेलमा घरेलु समर्थकको साथ पाएको मेक्सिकोले सुरुदेखि नै बल नियन्त्रणमा राख्दै आक्रमण गर्ने प्रयास गरे पनि दक्षिण कोरियाको संगठित रक्षापङ्क्ति तोड्न सकेन।
उता दक्षिण कोरियाले पनि काउन्टर अट्याकमार्फत केही खतरनाक अवसर सिर्जना गरे पनि फिनिसिङमा चुक्दा गोल हुन सकेन।
खेलको शुरूआततिरै दक्षिण कोरियाका काङ-इन लीले मेक्सिकोका लुइस रोमोमाथि ढिलो ट्याकल गरेपछि पहेँलो कार्ड पाएका थिए। त्यसपछि कोरियाली टोलीले थप सतर्कता अपनाएको देखियो।
पहिलो हाफभर दुवै टोलीले समान रूपमा अवसर पाए पनि उत्कृष्ट गोलरक्षक प्रदर्शन र रक्षात्मक अनुशासनका कारण नतिजा खुल्न सकेन।
अब दोस्रो हाफमा निर्णायक गोलको खोजीमा दुवै टोली अझ आक्रामक रूपमा प्रस्तुत हुने अपेक्षा गरिएको छ।





