काठमाडौँ । विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा दक्षिण अफ्रिका र चेकियाले १-१ को बराबरी खेल्दै १-१ अंक बाँडेका छन्। प्रतिस्पर्धात्मक खेलको अन्त्यतिर दुवै टोलीले विजयी गोलका अवसर पाए पनि सदुपयोग गर्न नसक्दा अंक बाँड्न बाध्य भए।
चेकियाले खेलको शुरूआतमै पाँचौँ मिनेटमा अग्रता बनाएको थियो। भाक्लाभ सोज्काको आकर्षक पासमा मिचल सादिलेकले गोल गर्दै टोलीलाई १-० ले अघि बढाएका थिए। यो गोल विश्वकप २०२६ को हालसम्मकै सबैभन्दा छिटो गोल बनेको थियो।
शरूआती दबाबपछि दक्षिण अफ्रिका खेलमा फर्कियो र दोस्रो हाफमा लगातार आक्रमण गर्दै बराबरी गोल निकाल्न सफल भयो। टेबोहो मोकोएनाले पेनाल्टीमा गोल गर्दै खेललाई १-१ को अवस्थामा पुर्याएका थिए।
बराबरीपछि खेल निकै रोमाञ्चक बनेको थियो। निर्धारित समयको अन्त्यतिर मोकोएनाले उत्कृष्ट रक्षात्मक प्रदर्शन गर्दै चेकियाको खतरनाक आक्रमण विफल पारेका थिए। त्यसपछि इन्जुरी समयको चौथो मिनेटमा डेभिड शुल्जको क्रसमा प्याट्रिक शिक बलमा पुग्न सकेनन् भने लुकास प्रोभोडको कोणीय प्रहार गोलको मुख हुँदै बाहिरियो।
अर्कोतर्फ, इन्जुरी समयको पाँचौँ मिनेटमा दक्षिण अफ्रिकाले पनि जित निकाल्ने अवसर पाएको थियो। एभिडेन्स माक्गोपाले बक्सभित्र उत्कृष्ट नियन्त्रणपछि गरेको तल्लो प्रहारलाई चेकियाका गोलरक्षक मातेय कोभारले सहजै बचाउ गरे। त्यसलगत्तै पाएको कर्नर अवसरबाट पनि दक्षिण अफ्रिकाले फाइदा उठाउन सकेन।
रोमाञ्चक अन्त्यसँगै खेल १-१ को बराबरीमा सकिएको छ। यस नतिजाले दुवै टोलीको अन्तिम ३२ मा पुग्ने सम्भावनामा केही धक्का लागेको छ भने समूह ‘ए’ को प्रतिस्पर्धा अझ रोचक बनेको छ।




