पोखरा । स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिकामा आफ्नै कोठामा आगो लगाएर गम्भीर घाइते भएका एक पुरुषको मृत्यु भएको छ ।
अर्जुनचौपारी-१ रैते बस्ने ३९ वर्षीय थमबहादुर सार्कीले बुधबार दिउँसो करिब ४ बजे आफ्नै सुत्ने कोठामा आगो लगाएका थिए ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार आगो लगाउने क्रममा उनको अनुहारसहित शरीरको भाग गम्भीर रूपमा जलेको थियो । आगलागीका कारण कोठामा रहेका अन्य सामग्रीसमेत नष्ट भएका छन् ।
गम्भीर अवस्थामा रहेका सार्कीलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल पुतलीबजार लगिएको थियो । तर अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
प्रहरीका प्रारम्भिक अनुसन्धान अनुसार मृतक सुस्त मनस्थितिका व्यक्ति रहेको र उनी नियमित रूपमा मादक पदार्थ सेवन गर्ने गरेको खुलेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । घटनापछि प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाउने लगायतका कानूनी प्रक्रिया अघि बढाएको छ ।




