Nidan Media

अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने प्रारम्भिक समझदारीमा हस्ताक्षर

काठमाडौँ। अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने प्रारम्भिक समझदारीमा हस्ताक्षर भएको दाबी गरिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसुद पेजेस्कियनले बुधबार डिजिटल माध्यमबाट उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् भन्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

ट्रम्प जी-सेभेन राष्ट्रहरूको सम्मेलनका लागि फ्रान्समा रहेका बेला पालेस अफ भर्साइल्समा आयोजित रात्रिभोज अगाडि सम्झौतामा हस्ताक्षर भएको बताइएको छ।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ।

सम्झौतामा विश्वकै महत्त्वपूर्ण जलमार्ग स्ट्रेट अफ हर्मुज तत्काल खोल्ने र सैन्य तनाव अन्त्य गर्ने विषयमा सहमति भएको दाबी गरिएको छ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरेको भिडियोमा उक्त सहमतिले दीर्घकालीन शान्तिको बाटो खोल्ने बताएका छन्।

यस्तै पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले पनि दुवै पक्षबीच समझदारीपत्रमा हस्ताक्षर भएको उल्लेख गर्दै प्रारम्भिक चरणमै स्ट्रेट अफ हर्मुज खोल्ने र अवरोध हटाउने प्रक्रिया अघि बढेको बताएका छन्।

कूटनीतिक स्रोतहरूलाई उद्धृत गर्दै दुवै पक्षबीच वार्ता छिटो अघि बढाएर समयअगावै सम्झौता कार्यान्वयन गरिएको दाबी गरिएको छ। यसअघि सम्झौता स्वीट्जरल्यान्डमा गर्ने योजना भए पनि प्रक्रिया तीव्र बनाइएपछि तत्काल लागू गरिएको बताइएको छ।

अब आगामी शुक्रबार स्वीट्जरल्यान्डमा हुने अमेरिका-इरान प्रतिनिधिमण्डलको बैठक भने यथावत् रहने अपेक्षा गरिएको छ।

उक्त वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भान्स र इरानी पक्षका प्रतिनिधि सहभागी हुने बताइएको छ, जहाँ इरानको आणविक कार्यक्रमबारे थप वार्ता अघि बढाउने विषयमा छलफल हुने जनाइएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.