Nidan Media

कङ्गोको ऐतिहासिक गोलमा पोर्चुगल स्तब्ध, पहिलो हाफमै १-१ को रोमाञ्चक बराबरी

काठमाडौँ । डीआर कङ्गोले पोर्चुगललाई स्तब्ध बनाउँदै पहिलो हाफमा १-१ को बराबरीमा रोकेको छ। खेलको अन्तिम क्षणमा आएको बराबरी गोलले ह्युस्टनको मैदानमा ठूलो सनसनी फैलाएको छ।

पहिलो हाफको ४५+५ मिनेटमा योआने विस्साले अनमार्क अवस्थामा मासुआकुको क्रसलाई शक्तिशाली हेडमार्फत गोलमा परिणत गर्दै डिआर कङ्गोका लागि ऐतिहासिक गोल गरेका हुन्।

यो गोल डीआर कङ्गोको विश्वकप इतिहासमै पहिलो गोल समेत बनेको छ, जसले उनीहरूलाई ठूलो उपलब्धि दिलाएको छ।

खेलको सुरुआत भने पूर्ण रूपमा पोर्चुगलको पक्षमा गएको थियो। छैटौँ मिनेटमै जुआओ नेभेसले पेड्रो नेटोको उत्कृष्ट क्रसलाई हेडमार्फत गोलमा परिणत गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए।

तर अग्रता पाएपछि पनि पोर्चुगलले खेलमा नियन्त्रण मजबुत बनाउन सकेन। रक्षापंक्तिमा देखिएको कमजोरी र फिनिसिङको कमीका कारण दोस्रो गोल गर्न असफल रह्यो। पहिलो हाफभर डिआर कङ्गोका गोलकिपर पनि धेरै दबाबमा परेनन्।

हाफको मध्यतिरदेखि डिआर कङ्गोले आत्मविश्वास बढाउँदै खेलमा फर्किन थालेको देखियो। उनीहरूले बल नियन्त्रणमा सुधार गर्दै निरन्तर दबाब सिर्जना गरे, जसको फलस्वरूप अन्तिम क्षणमा बराबरी गोल सम्भव भयो।

पहिलो हाफको प्रदर्शनलाई आधार मान्दा डिआर कङ्गोले खेलमा मजबुत पुनरागमन गरेको छ भने पोर्चुगललाई दोस्रो हाफमा अग्रता जोगाउन थप चुनौती सामना गर्नुपर्ने देखिन्छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.