Nidan Media

इरानसँग सम्झौता भइसकेको छ, चाँडै सार्वजनिक हुन्छ: ट्रम्प

काडमाडौँ। मध्यपूर्वमा महिनौँदेखि जारी तनाव र युद्धबीच अमेरिकाले ठूलो कूटनीतिक सफलता हासिल गरेको दाबी गरेको छ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने प्रारम्भिक सम्झौतामा हस्ताक्षर भइसकेको घोषणा गर्दै क्षेत्रीय शान्तितर्फ ऐतिहासिक कदम चालिएको बताएका छन्।

जी–सेभेन शिखर सम्मेलनका क्रममा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँसँगको भेटमा ट्रम्पले सम्झौताको आधारभूत सहमति पूर्ण रूपमा तयार भइसकेको र विस्तृत विवरण चाँडै सार्वजनिक गरिने जानकारी दिएका हुन्।

अमेरिकी अधिकारीहरूका अनुसार शुक्रबार जेनेभामा औपचारिक हस्ताक्षर हुने तयारी छ भने विश्व अर्थतन्त्रका लागि अत्यन्त महत्त्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुज जलमार्ग पुनः सञ्चालनमा आउनेछ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले यसलाई प्रारम्भिक समझदारी पत्र अर्थात् एमओयूको रूपमा व्याख्या गर्दै आगामी चरणमा धेरै जटिल प्राविधिक र सुरक्षा सम्बन्धी विषयहरू टुंग्याउन बाँकी रहेको बताए।

उनका अनुसार इरानले आणविक हतियार निर्माण नगर्ने प्रमाणित प्रतिबद्धता जनाउने र क्षेत्रीय शान्ति तथा स्थिरताका लागि काम गर्ने विषय सम्झौताको मुख्य आधार बनेको छ।

अमेरिकी अधिकारीहरूका अनुसार राष्ट्रपति ट्रम्प, उपराष्ट्रपति भान्स र इरानी संसद्का सभामुख मोहम्मद बाघर घालिबाफले इलेक्ट्रोनिक माध्यमबाट दस्तावेजमा हस्ताक्षर गरिसकेका छन्।

यो सम्झौताले हाल कायम युद्धविरामलाई थप ६० दिन विस्तार गर्नेछ, जस अवधिमा अन्तिम र विस्तृत शान्ति सम्झौताका लागि वार्ता अगाडि बढाइनेछ।

तर शान्तिको यो प्रयासबीच पनि क्षेत्रीय तनाव पूर्ण रूपमा अन्त्य भएको छैन। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानलाई कुनै पनि हालतमा आणविक हतियार विकास गर्न नदिने चेतावनी दोहोर्याएका छन्।

उता लेबनान र इजरायलबीच पुनः हवाई आक्रमण, मिसाइल तथा ड्रोन प्रहारका घटनाहरू सार्वजनिक भइरहेका छन्, जसले शान्ति प्रक्रियामाथि चुनौती खडा गरेको छ।

यसैबीच, इरानले पनि सैन्य कारबाही अन्त्य भएको पुष्टि गर्दै कतारको मध्यस्थतामा लामो वार्तापछि सहमति सम्भव भएको जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.