Nidan Media

‘मायामा माया’ मुक्तक विमर्शमा नारी संवेदना, प्रेम र सामाजिक यथार्थको गहिरो चर्चा

पोखरा। मुक्तककार नानीबाबा अधिकारीको मुक्तक संग्रह ‘मायामा माया’ केन्द्रित मुक्तक विमर्श कार्यक्रम पोखरामा सम्पन्न भएको छ । नेपाल स्रष्टा समाज गण्डकी प्रदेशले आयोजना गरेको कार्यक्रममा प्रेम, सामाजिक यथार्थ, नारी अनुभूति र जीवन दर्शनलाई साहित्यिक दृष्टिले गहिरो रूपमा विश्लेषण गरिएको छ।

प्रमुख अतिथि प्राज्ञ तीर्थ श्रेष्ठले धेरै कुरा भन्न सक्ने क्षमता दीर्घ साधनाबाट मात्र प्राप्त हुने उल्लेख गर्दै अधिकारीको सिर्जनात्मक यात्रामा सम्भावनाको उज्यालो देखिएको बताए।

साहित्यकार विधान आचार्यले मुक्तक लेखनलाई सहज विधा नभएको भन्दै संग्रहभित्र प्रेमका विविध आयाम समेटिनु उल्लेखनीय रहेको बताए।

समीक्षक असफल गौतमले मुक्तकलाई पद्य विधाको सारगर्भित अभिव्यक्ति भन्दै यस संग्रहमा सामाजिक, सांस्कृतिक र आर्थिक चेतनाको सशक्त प्रयोग भएको बताए।

उनका अनुसार प्रेमलाई केवल भावना होइन, “पञ्चामृत” का रूपमा प्रस्तुत गरिएको छ, जसले जीवनका विविध पक्षसँग सम्बन्धित अर्थ बोकेको छ। उनले संग्रहलाई प्राज्ञिक अध्ययनका लागि समेत महत्वपूर्ण स्रोतका रूपमा व्याख्या गरे।

साहित्यकार लक्ष्मी थापाका अनुसार अधिकारीका ४५० मुक्तकहरू केवल प्रेममा सीमित छैनन्, बरु जीवनका बहुआयामिक अनुभूतिहरूको दर्पण हुन्।

उनका मुक्तकमा प्रेमको शालीनता, जीवन जिउने कला, जातीय विभेद, नारी वेदना र सामाजिक असमानताका सूक्ष्म पक्षहरू सशक्त रूपमा अभिव्यक्त भएका छन्।

थापाका अनुसार “एक्लै हुँदा सहज तर समाजमा असहज हुने” जस्ता अनुभूतिहरूले मुक्तकलाई अझ जीवन्त बनाएका छन्।

थापाले नारीले प्रेम र अनुभूतिलाई साहित्यमा उतार्नु अझै पनि चुनौतीपूर्ण रहेको भन्दै नानीबाबा अधिकारीको सिर्जनात्मक साहसको प्रशंसा गरिन्।

धर्मराज-सावित्री थापा स्मृति प्रतिष्ठानका अध्यक्ष मदनराज थापाले मुक्तकको ऐतिहासिक जरा संस्कृत साहित्यमा रहेको उल्लेख गर्दै यसको निरन्तर विकासको आवश्यकता औँल्याए।

कार्यक्रममा पुतलीबजार प्रज्ञा-प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह बाबा, प्राज्ञ सरस्वती श्रेष्ठ ‘सरु’लगायतले बोलेका थिए।

कार्यक्रममा मुक्तककार नानीबाबा अधिकारी र साहित्यकार शिव त्रिपाठीले संग्रहका मुक्तक वाचन गरेका थिए।

नेपाल स्रष्टा समाज गण्डकी प्रदेशकी अध्यक्ष रीता पहारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष हरिदेवी कोइरालाले स्वागत र सचिव पद्मराज ढकालले सञ्चालन गरेका थिए।

‘मायामा माया’ केवल प्रेमको संग्रह नभई सामाजिक चेतना, नारी अनुभव र जीवनदर्शनको बहुरङ्गी दस्तावेजका रूपमा प्रस्तुत भएको साहित्यकारहरूको निष्कर्ष छ।

पोखराको उक्त विमर्शले मुक्तकलाई केवल लघु कविता होइन, विचार र अनुभूतिको सशक्त माध्यमका रूपमा पुनः स्थापित गरेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.