काठमाडौँ। संयुक्त राज्य अमेरिका र इरानबीच मध्यपूर्वमा जारी तनाव अन्त्य गर्न ‘२४ घण्टाभित्र’ शान्ति सम्झौता हुन सक्ने प्रमुख मध्यस्थकर्ता पाकिस्तानले दाबी गरेको छ ।
पछिल्ला महिनादेखि जारी द्वन्द्व र स्ट्रेट अफ हर्मुज क्षेत्रमा देखिएका झडपबीच वार्ता निर्णायक चरणमा पुगेको दाबी गरिएको हो ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले सामाजिक सञ्जाल एक्समा लेख्दै धेरै विषयमा सहमति जुटिसकेको र स्थायी शान्तिका लागि सम्झौता नजिक पुगेको बताएका छन् । उनका अनुसार अर्को २४ घण्टाभित्र सम्झौता अन्तिम रूप दिन सकिने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री शरीफले पाकिस्तानले शान्ति सम्झौताका लागि इलेक्ट्रोनिक माध्यमबाट तत्काल हस्ताक्षर गर्ने तयारी गरिरहेको उल्लेख गर्दै त्यसपछि अर्को हप्तामा प्राविधिक स्तरको वार्ता हुने जानकारी दिएका छन् ।
अप्रिल ८ मा भएको युद्धविरामपछि दुवै पक्षबीच शान्ति प्रयास जारी रहे पनि अहिलेसम्म ठोस सम्झौता हुन सकेको छैन । तर पछिल्लो दाबीले अन्तर्राष्ट्रिय समुदायमा चासो र आशा दुवै बढाएको छ ।
यदि यो कूटनीतिक प्रयास सफल भएमा मध्यपूर्वको दीर्घकालीन अस्थिरता कम हुने र विश्व ऊर्जा बजारमा देखिएको अनिश्चितता घट्ने सम्भावना रहन्छ ।
तर, बारम्बार असफल भएका वार्ताहरूलाई हेर्दा दाबी मात्रले स्थायी समाधान सुनिश्चित नहुने भएकाले व्यवहारिक कार्यान्वयन र दुवै पक्षको विश्वास निर्माण अझै प्रमुख चुनौतीका रूपमा रहने देखिन्छ । एजेन्सी





