काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय औपचारिक भ्रमणका लागि बेइजिङ पुगेका छन् ।
उनी गएराति चीनतर्फ प्रस्थान गरेका थिए भने स्थानीय समयअनुसार आज अपराह्न बेइजिङ पुगेको नेपाली दूतावासले जनाएको छ ।
बेइजिङ विमानस्थलमा उनलाई चीनका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाल तथा चिनियाँ विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए ।
दूतावासका अनुसार मन्त्री खनालको सम्मानमा आज साँझ स्वागत समारोह आयोजना गरिएको छ, जहाँ उनले नेपाली समुदायसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नेछन् ।
वार्तामा नेपाल-चीन सम्बन्धलाई थप सुदृढ बनाउने, आपसी सहकार्य विस्तार गर्ने तथा विकास साझेदारीका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
साथै, उनले चीनका अन्य उच्च अधिकारीहरूसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
यो भ्रमण नेपाल-चीन सम्बन्धलाई राजनीतिक संवादबाट व्यावहारिक सहकार्यतर्फ लैजाने अवसरका रूपमा देखिन्छ ।
विशेषगरी पूर्वाधार, व्यापार, पर्यटन र कनेक्टिभिटीका विषयमा ठोस प्रगति भएमा दुई देशबीचको रणनीतिक साझेदारी अझ सुदृढ हुन सक्छ ।
यद्यपि, नेपालले सन्तुलित परराष्ट्र नीति कायम राख्दै सबै छिमेकीसँग समान लाभ हुने गरी कूटनीतिक लाभ लिन सक्ने क्षमता देखाउनुपर्ने चुनौती भने यथावत् छ ।





