Nidan Media

५२ वर्षपछि फर्किएको हैटीलाई हराउँदै स्कटल्यान्डको विजयी शुरूआत

काठमाडौँ । फिफा विश्वकप २०२६ मा स्कटल्यान्डले विजयी शुरूआत गरेको छ। समूह ‘सी’ अन्तर्गतको खेलमा स्कटल्यान्डले हैटीलाई १–० ले पराजित गर्दै महत्वपूर्ण तीन अंक बटुलेको हो।

स्कटल्यान्डको जितमा जोन म्याकगिनले निर्णायक गोल गरे। उनले खेलको २९औँ मिनेटमा गरेको गोल नै टोलीको जितका लागि पर्याप्त बन्यो।

खेलमा हैटीले ५४ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखे पनि त्यसलाई गोलमा परिणत गर्न सकेन। स्कटल्यान्डले भने पाएको अवसरको सदुपयोग गर्दै पहिलो खेलमै पूर्ण अंक जोड्यो।

यो जितसँगै स्कटल्यान्ड समूह ‘सी’ को शीर्ष स्थानमा पुगेको छ। यसअघि भएको सोही समूहको अर्को खेलमा ब्राजिल र मोरक्कोले १–१ गोलको बराबरी खेलेका थिए।

उत्तर अमेरिकी राष्ट्र हैटी ५२ वर्षपछि विश्वकपमा फर्किएको हो। यसअघि जर्मनीमा सन् १९७४ मा पहिलोपटक विश्वकप खेलेको हैटीले तीनवटै खेल गुमाउँदै १४ गोल बेहोरेको थियो। यसपटक आफ्नै महादेशमा भइरहेको प्रतियोगितामा त्यो निराशाजनक इतिहास सुधार्ने लक्ष्य राखेको छ।

कोनकाकाफ छनोटमा १० खेलमध्ये ६ मा जित हात पारेको हैटीले नोभेम्बरमा कोस्टा रिकालाई १–० र निकारागुवालाई २–० ले हराउँदै विश्वकपको टिकट काटेको थियो। विश्वकपअघि न्युजिल्यान्डलाई ४–० ले हराएको हैटी ४८ टोलीमध्ये फिफा वरीयताको पुछारबाट दोस्रो स्थानमा रहेको राष्ट्र हो।

उता, स्कटल्यान्डले नवौँ पटक विश्वकप खेलिरहेको छ। सन् १९९८ पछि पहिलोपटक विश्वकपमा फर्किएको टोलीले यूईएफए छनोटमा ६ मध्ये चार खेल जितेको थियो।

स्कट म्याकटोमिने, एन्डी रोबर्टसन र जोन म्याकगिनजस्ता अनुभवी खेलाडी रहेको स्कटल्यान्डलाई यसपटक प्रतियोगिताको सम्भावित ‘डार्क हर्स’ टोलीका रूपमा पनि हेरिएको छ।

विश्वकपअघि स्कटल्यान्डले कोरासाओलाई ४–१ र बोलिभियालाई ४–० ले पराजित गर्दै राम्रो लय कायम राखेको थियो। अहिलेसम्म विश्वकपको समूह चरण पार गर्न नसकेको स्कटल्यान्ड यसपटक पहिलोपटक नकआउट चरणमा पुग्ने लक्ष्यसहित प्रतियोगितामा उत्रिएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.