काठमाडौँ । नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले देशका विभिन्न क्षेत्रमा बदली र वर्षाको अवस्था देखिएको छ।
हाल कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहेको छ भने अन्य क्षेत्रमा आंशिक बदली छ।
कोशी प्रदेशका केही स्थान तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशीसहित देशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ।
कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रका केही स्थान र अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ। मधेससहित अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली र तराईमा मौसम मुख्यतया सफा रहनेछ।
रातिको समयमा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
साथै, कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।




