काठमाडौँ । कश्मीरमा प्रहरी र सरकारविरोधी आन्दोलनकारीबीच भएको हिंसात्मक झडपमा मृत्यु हुनेको संख्या २० पुगेको छ। समाचार संस्था एएफपीका अनुसार आर्थिक तथा सुशासन सुधारको माग गर्दै भइरहेको आन्दोलन पछिल्ला दिनमा थप उग्र बनेको हो।
संयुक्त अवामी एक्सन कमिटी (जेएएसी) को नेतृत्वमा भइरहेको आन्दोलनका समर्थकहरूले सरकारले आतङ्कवाद विरोधी कानूनअन्तर्गत प्रतिबन्ध लगाए पनि प्रदर्शनलाई निरन्तरता दिएका छन्।
यसअघि तीन जना सर्वसाधारण र चार जना प्रहरी अधिकारीसहित सात जनाको मृत्यु भएको पुष्टि भएको थियो। पछिल्ला झडपसँगै मृतकको संख्या २० पुगेको एएफपीले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ।
स्थानीय सरकारका अनुसार कोटलीमा मात्रै यस सात जनाको मृत्यु भएको छ। रावलकोटका प्रमुख प्रशासनिक अधिकारी सरदार वाहिदले चार जना प्रहरी अधिकारीसहित १२ जनाको ज्यान गएको बताएका छन्।
यस्तै, मिरपुरका वरिष्ठ प्रहरी अधिकारी खुर्रम इकबालका अनुसार बुधबार प्रहरीसँग भएको झडपमा थप एक जना प्रदर्शनकारीको मृत्यु भएको छ।
मुख्य सहर मुजफ्फराबादमा जेएएसीको आह्वानमा अधिकांश पसल बन्द रहेका छन्। आन्दोलनका कारण मोबाइल तथा इन्टरनेट सेवा पनि सीमित गरिएको बताइएको छ।
जेएएसीले आफूहरू आर्थिक तथा राजनीतिक अधिकारका लागि शान्तिपूर्ण आन्दोलन गरिरहेको दाबी गर्दै सरकारले आन्दोलनकारीलाई आतङ्कवादी समूहको संज्ञा दिई दमन गरेको आरोप लगाएको छ।
यसअघि पनि जेएएसीको नेतृत्वमा भएको आन्दोलन हिंसात्मक बन्दा सेप्टेम्बरमा हिमाली क्षेत्रमा भएको झडपमा नौ जनाको मृत्यु भएको पुष्टि भएको थियो।
अहिलेको घटनापछि कश्मीरको सुरक्षा अवस्था थप तनावपूर्ण बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।





