Nidan Media

पोखरामा कडा लागुऔषध एलएसडीसहित भारतीय नागरिक पक्राउ

पोखरा । कडा खालको लागुऔषध एलएसडीसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। भारत केरलाका २८ वर्षीय आयुष अजितलाई जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।

पोखराको लेकसाइड क्षेत्रमा भारतीय नागरिकको आवागमन बढेपछि प्रहरीले निगरानी तीव्र पारेको थियो। सोही क्रममा ३० वैशाखमा दिउँसो २ बजे पोखरा-७ सहिदचोकस्थित हुलाक कार्यालय वरपर एक भारतीय युवक शंकास्पद अवस्थामा हिँडिरहेको भेटिएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा ती युवकले नेदरल्याण्ड्सबाट आएको चिठ्ठीबारे सोधपुछ गरिरहेको पाइएको हो। होटल गोक्यो लेकको ठेगानामा आएको उक्त चिठ्ठी शंकास्पद देखिएपछि हुलाकका कर्मचारी र जनप्रतिनिधिको रोहबरमा खोलेर हेर्दा १ हजार थान एलएसडी स्टिकर फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका अजित वैशाखको तेस्रो साता पोखरा आएको र पोखरा-१८ सेदीस्थित होली बेसिल गेस्ट हाउसमा बसेको अनुसन्धानबाट खुलेको छ। सो गेस्ट हाउसको कोठा खानतलासी गर्दा सात लाख ४० हजार रुपैयाँ नगद र एक मोबाइल पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

एलएसडी (लाइसेर्जिक एसिड डाइइथिलामाइड) अत्यन्त कडा खालको मनोवैज्ञानिक लागुऔषध हो, जसले मस्तिष्कमा भ्रम, उत्तेजना र चेतनामा गम्भीर असर पार्ने गर्छ। नेपालमा यसको कारोबार विरलै देखिए पनि पोखरामा यति ठूलो परिमाणमा पहिलो पटक फेला परेको प्रहरीले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.