काठमाडौँ। नेपाली बजारमा बुधबार सुनचाँदीको भाउमा भारी गिरावट आएको छ ।
मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा १० हजार एक सय र चाँदीको एक सय ८५ रुपैयाँ घटेको हो ।
मूल्य घटेसँगै बुधबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ९१ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा अभूषण महासंघले जनाएको छ ।
यसअघि मंगलबार सुनको भाउ प्रतितोला तीन लाख एक हजार नौ सय रुपैयाँ रहेको थियो ।
यता, मंगलबार प्रतितोला चार हजार नौ सय २५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बुधबार घटेर चार हजार सात सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।




