काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साह (बालेन)ले आजै मन्त्रिपरिषद् विस्तार गर्दै गृह मन्त्रालय र नवप्रवर्तन मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।
प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्रीले गृहमन्त्रीमा सुधन गुरुङ र नवप्रवर्तन मन्त्रीमा महावीर पुनलाई नियुक्तिका लागि सिफारिस गरेका छन्।
सुधन गुरुङ यसअघि पनि गृहमन्त्री बनेका थिए। तर सम्पत्ति स्रोतसम्बन्धी विवाद उठेपछि उनले २७ दिनमै पदबाट राजीनामा दिएका थिए।
पछि उनीमाथि छानबिन समिति गठन गरिएको थियो। सो समितिले तयार पारेको प्रतिवेदन आजै मन्त्रिपरिषद्ले ग्रहण गर्ने निर्णय पनि गरेको छ।
गुरुङ गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा गोरखा-१ बाट निर्वाचित भएका हुन्।
यता, नवप्रवर्तन मन्त्रीमा सिफारिस भएका महावीर पुन दोस्रो पटक मन्त्री बन्न लागेका हुन्।
उनी यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षामन्त्री बनेका थिए। तर उनले मन्त्री पदबाट राजीनामा दिँएर म्याग्दीबाट स्वतन्त्र रुपमा प्रतिनिधिसभा निर्वाचनमा होमिएका थिए। जहाँ उनी भारी मतका साथ निर्वाचित भएका थिए।
प्रधानमन्त्रीले हालसम्म गृह र नवप्रवर्तन मन्त्रालय आफैसँग राखेका थिए। ती मन्त्रालयमा मन्त्री नियुक्त भएसँगै मन्त्रिपरिषद् विस्तारले सरकारको कामकाज र निर्णय प्रक्रियालाई थप गति दिने अपेक्षा गरिएको छ।
यसैबीच, महावीर पुन मन्त्री बनेसँगै सरकारको पक्षमा प्रतिनिधिसभामा १८२ सांसद पुग्ने र सत्ता समीकरणलाई अझ मजबुत बनाउने राजनीतिक वृत्तमा विश्लेषण गरिएको छ।





