काठमाडौँ । फिफा विश्वकप २०२६ शुरू हुन केही दिन बाँकी रहँदा अमेरिकाको क्यान्सस सिटीमा भएको गोलीकाण्डले सुरक्षा चिन्ता बढाएको छ ।
इङ्ग्ल्यान्ड राष्ट्रिय टोलीको प्रशिक्षण केन्द्रबाट करिब चार माइल दूरीमा भएको घटनामा नौ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार घाइते सबैको अवस्था खतरामुक्त रहेको छ भने कम्तीमा तीन जनालाई अस्पतालमा भर्ना गरिएको छ । घटनामा संलग्न व्यक्तिबारे अनुसन्धान जारी रहे पनि हालसम्म कुनै पनि पक्राउ भएको छैन ।
इङ्ग्ल्यान्ड टोली अझै क्यान्सस सिटी पुगेको छैन । तर प्रशिक्षण स्थल नजिकै भएको यस्तो हिंसात्मक घटनाले विश्वकप आयोजनाको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ ।
अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा हुने विश्वकप नजिकिँदै गर्दा आयोजकमाथि सुरक्षा व्यवस्था कडा बनाउन दबाब बढेको छ ।




