काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल अर्को साता चीन भ्रमणमा जाने भएका छन्। भारत भ्रमण सम्पन्न गरेर फर्किएको केही दिनमै उनको चीन भ्रमण तय भएको हो।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मन्त्री खनाल जुन १४ (जेठ ३१ गते) चीन प्रस्थान गर्नेछन्। भ्रमणका क्रममा जुन १५ र १६ मा उच्चस्तरीय भेटवार्ताका कार्यक्रम तय भएका छन्।
उनले चिनियाँ विदेशमन्त्री वाङ यी तथा चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका प्रमुख लिउ हाइसिङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।
भ्रमणका क्रममा मन्त्री खनालले चीनमा रहेका नेपाली समुदायसँग पनि अन्तरक्रिया गर्नेछन्। उनको जुन १७ मा स्वदेश फर्किने कार्यतालिका रहेको बताइएको छ।
यद्यपि परराष्ट्र मन्त्रालयले मन्त्री खनालको चीन भ्रमणको मिति र औपचारिक कार्यसूची सार्वजनिक गरिसकेको छैन।




