Nidan Media

नेपाल-भारत सीमा विवाद कूटनीतिक संवादबाट समाधान गर्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीच रहेका सीमा तथा सीमांकनसम्बन्धी बाँकी विवादहरू कूटनीतिक संवादमार्फत समाधान गर्नुपर्ने बताएका छन्।

भारत भ्रमणका क्रममा उनले नेपाल-भारत सम्बन्धलाई आपसी हित, विश्वास र सहकार्यका आधारमा थप सुदृढ बनाउन नेपाल प्रतिबद्ध रहेको उल्लेख गर्दै सीमा र सीमांकनका बाँकी विषय स्थापित द्विपक्षीय संयन्त्रमार्फत अघि बढाउनुपर्ने बताएका हुन्।

‘हामी आपसी हितका विषयमा सम्बन्ध निर्माण गर्न चाहन्छौँ। हामीबीच केही मुद्दाहरू छन् भन्ने कुरा म स्वीकार गर्छु। सीमा र सीमांकनसँग सम्बन्धित बाँकी रहेका विषयहरू कूटनीतिक संवादमार्फत समाधान गर्न सकिन्छ र गर्नुपर्छ,’ उनले भने।

परराष्ट्रमन्त्री खनालले नेपाल र भारतबीच यस्ता विषय समाधानका लागि विभिन्न द्विपक्षीय संयन्त्र पहिल्यैदेखि क्रियाशील रहेको उल्लेख गर्दै प्राविधिक तहको संयुक्त फिल्ड सर्भे टोलीले सीमाक्षेत्रमा संयुक्त रूपमा काम गरिरहेको जानकारी दिए।

उनले भारतका विदेशमन्त्रीसँग भएको भेटवार्ताका क्रममा ती सबै संयन्त्रलाई पुनः सक्रिय बनाउने सहमति भएको पनि बताए।

‘हामीले हिजोको छलफलमा सबै संयन्त्रहरू सक्रिय बनाउने सहमति गरेका छौँ, ताकि खुलापन र संवादका माध्यमबाट विद्यमान समस्याहरू समाधान गर्न सकियोस्,’ उनले भने।

परराष्ट्रमन्त्री खनालको भनाइलाई नेपाल-भारत सम्बन्धमा संवाद र कूटनीतिक माध्यमबाट बाँकी रहेका संवेदनशील विषयहरू समाधान गर्दै आपसी विश्वास र सहकार्यलाई थप सुदृढ बनाउने नेपालको प्रतिबद्धताका रूपमा हेरिएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.