Nidan Media

नेपालको उत्कृष्ट बलिङमा ओमान ९४ रनमा समेटियो, करण केसीले लिए तीन विकेट

काठमाडौँ। सन् २०२६ एसियाली खेलकुद पुरुष क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपालले ओमानलाई ९४ रनमा समेट्दै फाइनल यात्राका लागि बलियो आधार बनाएको छ। सिंगापुरमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको ओमान १९.४ ओभरमा अलआउट भएको हो।

ओमानका लागि कप्तान सुफियान मेहमुदले सर्वाधिक ३८ रन बनाए भने जुबैर अल बलुशीले २२ रन जोडे। अन्य ब्याट्सम्यानले नेपाली बलिङ आक्रमणसामु टिक्न सकेनन्।

नेपालका लागि करण केसीले चार ओभरमा २० रन खर्चेर सर्वाधिक तीन विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई–दुई विकेट लिए भने शाहब आलम, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले एक-एक विकेट हात पारे। नेपाली बलरहरूले सुरुदेखि नै दबाब कायम राख्दा ओमानले नियमित अन्तरालमा विकेट गुमाएको थियो।

नेपाल समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनल पुगेको हो। पहिलो खेलमा चीनलाई २२१ रनको फराकिलो अन्तरले पराजित गरेको नेपालले दोस्रो खेलमा मलेसियालाई १६७ रनले हराउँदै समूह विजेताका रूपमा अन्तिम चारमा स्थान बनाएको थियो।

नेपाल र ओमानबीच यसअघि नौ वटा टी-२० अन्तर्राष्ट्रिय खेल भएका छन्। तीमध्ये नेपालले ६ खेल जितेको छ भने ओमानले दुई खेल आफ्नो पक्षमा पारेको छ। एक खेलको भने नतिजा आएको थिएन।

आजको खेलको विजेता टोली फाइनलमा पुग्नेछ। अर्को सेमिफाइनलमा मलेसिया र हङकङबीच प्रतिस्पर्धा हुनेछ।

यसअघि नै नेपाल, मलेसिया, हङकङ र ओमान सन् २०२६ मा जापानमा हुने एसियाली खेलकुदको पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भइसकेका छन्। सेमिफाइनलमा ओमानलाई ९४ रनमा समेटेसँगै नेपालले फाइनल प्रवेशका लागि ९५ रनको सामान्य लक्ष्य पाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.