काठमाडौँ । प्रतिनिधि सभामा नेपाल-भारत सीमा विवादसम्बन्धी प्रधानमन्त्री वालेन्द्र साहको अभिव्यक्तिलाई लिएर विवाद भएको छ।
आइतबार सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री साहले भारतले नेपालको भूमि अतिक्रमण गरेको मात्र नभई नेपालले पनि भारतको केही भूमि मिचेको तथ्य फेला परेको बताएका थिए।
प्रधानमन्त्री साहले आफू प्रधानमन्त्री बनेपछि सीमासम्बन्धी विषयमा नयाँ तथ्यहरू जानकारीमा आएको उल्लेख गर्दै दुवै पक्षबाट सीमा अतिक्रमण भएको पाइएको दाबी गरे।
उनले सीमा विवादको यथार्थ अवस्था पत्ता लगाउन नेपाल र भारतले संयुक्त अध्ययन गर्नुपर्नेमा जोड दिँदै मित्रवत् वार्तामार्फत समस्या समाधान गरिने बताए।
‘भारतले नेपालको जग्गा मात्र नभई नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको तथ्य प्रधानमन्त्री भएपछि जानकारीमा आएको छ,’ प्रधानमन्त्री साहले संसदमा भने।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति भने सांसदहरूले तत्काल आपत्ति जनाएका छन्। सांसदहरूले नेपालको आधिकारिक नक्सा र राष्ट्रिय अडानविपरीत अभिव्यक्ति आएको भन्दै त्यसलाई सच्याउन र संसदको रेकर्डबाट हटाउन माग गरेका छन्।
उनीहरूले सीमा विवादजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीको भनाइले भ्रम सिर्जना गर्न सक्ने तथा राष्ट्रिय हितमा प्रतिकूल असर पर्न सक्ने बताएका छन्।
सांसदहरूले सरकारको आधिकारिक धारणा स्पष्ट गर्न र प्रधानमन्त्रीको अभिव्यक्ति अभिलेखबाट हटाउन सभामुखको ध्यानाकर्षणसमेत गराएका छन्।
सीमा विवादका विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सदनमा चर्को बहस भएपछि यस विषयले राजनीतिक तरंगसमेत उत्पन्न गरेको छ।



