काठमाडौँ । कुशल भुर्तेलको कीर्तिमानी शतक तथा एकै ओभरमा ६ छक्का प्रहारको दुर्लभ उपलब्धिसँगै नेपालले एसियाली खेलकुद (एसियाड) पुरुष टी–२० क्रिकेट छनोटमा विजयी शुरूआत गरेको छ।
सिंगापुरस्थित सिङ्गा ओभल मैदानमा आइतबार भएको समूह ‘ए’ को खेलमा नेपालले चीनलाई २२१ रनको विशाल अन्तरले पराजित गर्यो। ३१४ रनको लक्ष्य पछ्याएको चीन १९.२ ओभरमा ९२ रनमै अलआउट भयो।
नेपालको जितमा ओपनर कुशल भुर्तेल नायक बने। उनले ४३ बलमा १२९ रनको विस्फोटक इनिङ्स खेल्ने क्रममा एकै ओभरमा ६ छक्का प्रहार गर्दै कीर्तिमान कायम गरे। यससँगै उनी नेपालका लागि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुई शतक बनाउने पहिलो खेलाडी बने।
भुर्तेललाई कुशल मल्लले उत्कृष्ट साथ दिए। मल्ल ४७ बलमा ८५ रन बनाएर अविजित रहे भने कप्तान रोहित पौडेलले २१ बलमा अविजित ६९ रन जोडे। उनीहरूको आक्रामक ब्याटिङमा नेपालले २० ओभरमा २ विकेट गुमाएर ३१३ रनको विशाल योगफल खडा गर्यो।
यो स्कोर टी–२० क्रिकेट इतिहासकै चौथो उच्च टोली योगफल हो। यसअघि नेपालले नै सन् २०२३ को एसियाडमा मङ्गोलियाविरुद्ध ३१४ रन बनाएर विश्व कीर्तिमान बनाएको थियो।
जवाफमा चीनका लागि ३ जना ब्याटरले मात्र दोहोरो अंकमा रन बनाउन सके। नेपालका बलरहरूले शुरूदेखि नै दबाब कायम राख्दा चीन ठूलो साझेदारी गर्न असफल रह्यो।
नेपालका लागि कुशल मल्लले ३ विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट हात पारे। अन्य बलरहरूले पनि अनुशासित प्रदर्शन गर्दै चीनलाई ९२ रनमा समेटे।
छनोट प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो दोस्रो खेल बिहीबार मलेसियासँग खेल्नेछ। उक्त खेलमा विजयी भए नेपाल एसियाली खेलकुदका लागि छनोट हुनेछ।


