काठमाडौँ। नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेश निर्वाचनलाई लक्षित गर्दै देशव्यापी ‘पार्टी जागरण अभियान’ सञ्चालन गर्ने भएको छ।
अभियानलाई प्रभावकारी बनाउन केन्द्रीय पदाधिकारीबाहेकका सबै केन्द्रीय सदस्यलाई पालिका केन्द्रित जिम्मेवारी दिइएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओली ले गणतन्त्र दिवसका अवसरमा अन्तरपार्टी निर्देशन (अपानि)-२ जारी गर्दै केन्द्रीय सचिवालय बैठकका निर्णय मातहतका कमिटीमा कार्यान्वयनका लागि पठाएका छन्। सोही निर्देशनमार्फत जागरण अभियानको औपचारिक घोषणा गरिएको हो।
एमालेले केन्द्रीय सदस्यहरूलाई जनसंगठन इन्चार्ज र विभागीय प्रमुखको जिम्मेवारीसँगै आफ्नो पालिकामा पार्टी गतिविधि सशक्त बनाउने अतिरिक्त जिम्मेवारी पनि दिएको छ।
केन्द्रीय सदस्य मात्र पर्याप्त नहुने निष्कर्षसहित केन्द्रीय निकायका सदस्य तथा अगुवा कार्यकर्तालाई समेत पालिका तहमा परिचालन गर्ने निर्णय गरिएको छ।
कार्यविभाजनअनुसार अध्यक्ष ओलीले समग्र नेतृत्व गर्नेछन् भने महासचिव शंकर पोखरेल ले संगठनात्मक कामको संयोजन तथा केन्द्रीय कार्यालय सञ्चालनको जिम्मेवारी पाएका छन्। उपाध्यक्ष र उपमहासचिवहरूलाई विभिन्न विभाग तथा फाँटको संयोजन जिम्मेवारी दिइएको छ।
पार्टी सचिव हिक्मत कार्कीलाई विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग प्रमुख, पद्मा अर्याललाई संसदीय मामिला विभाग प्रमुख र भानुभक्त ढकाललाई संगठन विभाग प्रमुख तोकिएको छ।
यस्तै, छविलाल विश्वकर्मालाई लुम्बिनी प्रदेश इन्चार्ज, खगराज अधिकारीलाई गण्डकी प्रदेश इन्चार्ज, यमलाल कँडेललाई कर्णाली प्रदेश इन्चार्ज, शेरधन राईलाई कोशी प्रदेश इन्चार्ज, राजन भट्टराईलाई राजधानी विशेष प्रदेश इन्चार्ज तथा महेश बस्नेतलाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ।
एमालेले अधिकांश केन्द्रीय सदस्यलाई आफूले प्रतिनिधित्व गर्ने जिल्लाका पालिकामा केन्द्रित भएर पार्टी जागरण अभियान सञ्चालन गर्न निर्देशन दिएको जनाएको छ। पार्टी स्रोतका अनुसार एक जना केन्द्रीय सदस्यलाई बढीमा दुई ओटा पालिकाको जिम्मेवारी दिइएको छ।
निर्वाचनपछि निष्क्रिय बन्दै गएका कमिटी र संगठनात्मक गतिविधिलाई पुनः सक्रिय बनाउने लक्ष्यसहित अभियान अघि बढाइएको एमालेको भनाइ छ।
कार्यविभाजनअनुसार निरज आचार्यलाई प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा रामकुमारी झाँक्रीलाई प्रेस चौतारी नेपालको इन्चार्जको जिम्मेवारी दिइएको छ।


