काठमाडौँ । पछिल्ला केही दिनदेखि तराई क्षेत्रमा अत्यधिक गर्मीबाट केही राहत मिलेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मौसममा आएको बदलीका कारण तापक्रम घटेको हो भने आगामी केही दिन वर्षा, हावाहुरी र मेघगर्जनको सम्भावना रहेको छ ।
दुई दिनअघिसम्म तराईका विभिन्न जिल्लामा ४१ डिग्री सेल्सियसभन्दा माथि पुगेको तापक्रम अहिले ३९ डिग्रीभन्दा तल झरेको विभागले जनाएको छ । बिहीबार सबैभन्दा बढी तापक्रम धनगढीमा ३८ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको थियो भने नेपालगञ्जमा ३८ दशमलव २ डिग्री पुगेको थियो । अन्य जिल्लामा भने तापक्रम ३६ डिग्रीभन्दा माथि नगएको विभागले जनाएको छ ।
विभागका सूचना अधिकारी दिनकर कायस्थले देशभर अहिले केही शीतल महसुस भइरहेको बताएका छन् । उनका अनुसार रातिको समयमा विभिन्न जिल्लामा वर्षा हुने क्रम बढेको छ भने काठमाडौँसहित कतिपय स्थानमा मध्यम वर्षा भइरहेको छ ।
विभागले धनकुटामा सबैभन्दा बढी ८७ मिलिमिटर वर्षा मापन भएको जानकारी दिएको छ । शुक्रबारदेखि वर्षाको मात्रा अझ बढ्ने सम्भावना रहेको जनाइएको छ ।
बिहीबार साँझ जारी मौसम बुलेटिनअनुसार नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यसको असरले हिमाली र पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली तथा तराईका अधिकांश क्षेत्रमा आंशिक बदली भएको छ ।
कोशी प्रदेशका केही स्थान तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।
मौसमविद् धर्मराज उप्रेतीका अनुसार पश्चिम तराईमा देखिएको लु अर्थात् अत्यधिक गर्मीको प्रभाव आज रातिबाट क्रमशः कम हुने सम्भावना छ । आगामी तीनदेखि चार दिनसम्म देशका धेरै क्षेत्रमा शीतल मौसम रहने अनुमान गरिएको छ ।
उनका अनुसार जेठ १५ गते बिहानदेखि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा वर्षा, असिना र हावाहुरीको सम्भावना छ । यो मौसमी प्रणालीको प्रभाव १८ गतेसम्म रहने र गण्डकी, कोशी तथा मधेस प्रदेशमा समेत असर देखिने जनाइएको छ ।
विभागले शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानसहित अन्य पहाडी तथा हिमाली भूभागमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको विभागले उल्लेख गरेको छ ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई तथा पहाडी क्षेत्रमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।





