काठमाडौँ । नेपाली महिला क्रिकेट टोलीले मलेसियाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय शृंखलामा क्लिन स्वीप गरेको छ । नेपालले दुई खेलको शृंखला २-० ले आफ्नो पक्षमा पारेको हो ।
मलेसियाको बायुमास ओभल मैदानमा शुक्रबार भएको दोस्रो खेलमा नेपालले ८३ रनको लक्ष्य १६ ओभरमै ३ विकेट गुमाएर पूरा गरेको छ ।
नेपालका लागि सम्झना खड्काले ३७ बलमा अविजित ३९ रन बनाइन् भने कविता कुँवरले २० बलमा अविजित १९ रनको योगदान दिइन् ।
टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया २० ओभरमा ९ विकेट गुमाएर ८२ रनमै सीमित भएको थियो । मलेसियाका लागि ऐना हमिजाले सर्वाधिक १७ रन बनाइन् भने धनुश्री मुहुनानले १५ र अरिनान नातास्याले १३ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए । कविता कुँवर, रुविना क्षेत्री र रिया शर्माले समान २–२ विकेट लिए भने पूजा महतो र सीता रानामगरले १–१ विकेट हात पारे ।
यसअघि पहिलो खेलमा पनि नेपाल २ विकेटले विजयी भएको थियो । मलेसियाले दिएको ६८ रनको लक्ष्य नेपालले १७ ओभर ३ बलमा ८ विकेट गुमाएर पूरा गरेको थियो भने मलेसिया १६ ओभर ५ बलमा ६७ रनमै अलआउट भएको थियो ।
एसीसी महिला प्रिमियर कप र २०औँ एसियाली खेलकुद प्रतियोगिताको छनोट तयारीस्वरूप नेपालले यो शृंखला खेलेको हो ।





