काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असार ७, ८ र ९ गते चितवनमा आफ्नो पहिलो महाधिवेशन गर्ने तयारी गरेसँगै पार्टी नेतृत्वलाई लिएर राजनीतिक वृत्तमा तीव्र चासो देखिएको छ । २०७९ असार ७ गते स्थापना भएको पार्टीले चार वर्षपछि गर्न लागेको पहिलो महाधिवेशनले आगामी नेतृत्वको दिशा तय गर्ने भएकाले अहिले सबैको नजर सभापति चयनतर्फ केन्द्रित भएको छ ।
महाधिवेशन नजिकिँदै जाँदा वर्तमान सभापति रवि लामिछाने पुनः दोहोरिने कि पार्टी प्रवेशपछि प्रभावशाली भूमिकामा देखिएका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा आउने भन्ने विषयले व्यापक चर्चा पाएको छ । यद्यपि पार्टीका अधिकांश नेताहरू भने अहिलेको अवस्थामा लामिछाने नै सभापतिमा दोहोरिनेमा ढुक्क देखिन्छन् ।
पार्टी स्रोतका अनुसार लामिछाने र शाहबीच सरकार तथा पार्टी सञ्चालनको जिम्मेवारीबारे यसअघि नै समझदारी बनेको दाबी गरिएको छ। त्यसअनुसार सरकारको नेतृत्व शाहले गर्ने र पार्टी संगठन लामिछानेले सम्हाल्ने सहमति भएकाले सभापतिमा प्रतिस्पर्धाको सम्भावना न्यून रहेको नेताहरू बताउँछन् । तर बालेन पक्षका केही नेताहरू भने राजनीतिमा परिस्थिति कुनै पनि बेला बदलिन सक्ने भन्दै अहिले नै निष्कर्ष निकाल्न हतार हुने बताउँछन् ।
रास्वपाभित्र सर्वसम्मत नेतृत्व चयनको सम्भावना पनि बलियो देखिएको छ । पार्टीका महामन्त्रीहरू, सचिवालय सदस्यहरू तथा अन्य पदाधिकारीहरूले सहमतिमै नेतृत्व चयन भए पार्टीभित्र सकारात्मक सन्देश जाने दाबी गर्दै आएका छन् । उनीहरूका अनुसार देशकै ठूलो राजनीतिक शक्ति बनेको दाबी गर्ने पार्टीले आन्तरिक लोकतन्त्रसँगै एकता पनि देखाउनुपर्ने चुनौती छ ।
पार्टी विधानअनुसार पहिले केन्द्रीय कमिटी चयन हुनेछ भने त्यसपछि पदाधिकारी चयन गरिनेछ । हालको व्यवस्थाअनुसार १२९ सदस्यीय केन्द्रीय कमिटी रहनेछ भने सभापतिले थप २२ जना मनोनयन गर्न सक्नेछन् । सभापति, वरिष्ठ नेता, उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष, सहकोषाध्यक्ष तथा प्रवक्तासहितको संरचना यथावत राख्ने तयारी भइरहेको नेताहरू बताउँछन् ।
महाधिवेशनमा करिब दुई हजार चार सय प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ । यसबीच पार्टीमा मिसिएका विभिन्न समूह, अभियन्ता र राजनीतिक धाराहरूलाई कसरी समेट्ने भन्ने विषयमा शीर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । नेताहरूका अनुसार आगामी केन्द्रीय कमिटी र सचिवालय सबै समूहको प्रतिनिधित्व हुने गरी बनाइनेछ ।




