काठमाडौँ । काठमाडौँ उपत्यकासहित मध्य र पूर्वी नेपालका विभिन्न क्षेत्रमा रातिदेखि वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पानी पर्ने र रोकिने क्रम आज दिनभर जारी रहने सम्भावना छ।
मौसमविद सञ्जिव अधिकारी का अनुसार कोशीदेखि गण्डकीसम्मका भूभागमा हिजोदेखि नै वर्षा भइरहेको छ। पूर्वी क्षेत्रमा भारत नजिक बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ भने काठमाडौं उपत्यका र आसपासमा स्थानीय वायुका कारण पानी परेको उनले बताए।
उनका अनुसार काठमाडौं, नुवाकोट र सिन्धुपाल्चोक क्षेत्रमा बनेको वर्षा गराउने बादल पूर्वतिर सरिरहेको छ। गत २४ घण्टामा सिन्धुपाल्चोकको गोब्रे केन्द्रमा सबैभन्दा धेरै ८१ मिलिमिटर वर्षा मापन गरिएको छ। केही घण्टामै काठमाडौंमा पानी रोकिने र अपराह्न फेरि वर्षा हुन सक्ने अनुमान गरिएको छ।
विभागले आज कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ।
यता पश्चिम नेपालमा भने वर्षा नहुँदा गर्मी बढेको छ। दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवाको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। मौसमविद अधिकारीका अनुसार लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो हावाको लहर चल्न सक्ने भएकाले सतर्कता अपनाउन सुझाव दिइएको छ।




