काठमाडौँ । देशभर पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम रहँदा आज गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहने सम्भावना छ । ती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने जनाइएको छ ।
यस्तै, मधेस प्रदेशसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा कोशी प्रदेशको तराई क्षेत्रका एकदुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा हुरी चल्न सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । साथै, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही भूभागमा तापक्रम बढ्न सक्ने सम्भावना पनि रहेको छ ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने कर्णाली प्रदेशको हिमाली भूभाग र मधेश प्रदेशमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । बाँकी पहाडी तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
रातिको समयमा कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
तराई क्षेत्रका केही स्थानमा हुरी चल्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।





