काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता वितरण, नवीकरण र अद्यावधिक कार्य आगामी जेठ २१ गतेभित्र अनिवार्य रूपमा सम्पन्न गर्न निर्देशन दिएको छ। ललितपुरस्थित केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको सभापतित्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले सदस्यता अभिलेखीकरणलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्दै कांग्रेसलाई सबैभन्दा बलियो सदस्य नेटवर्क भएको पार्टी बनाउने उद्देश्य राखेको छ। अब प्रत्येक क्रियाशील सदस्यले आफ्नै मोबाइलबाट अनलाइनमार्फत ‘स्वयं सदस्यता आवेदन फारम’ भरेर आफ्नो सदस्यता अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको छ।
अनलाइन अद्यावधिकका क्रममा कुनै समस्या आएमा सदस्यहरूले ९७०१२५५५५५ नम्बरमा सम्पर्क गरी एआई सहायतामार्फत प्राविधिक सहयोग लिन सक्नेछन्। यसका साथै केन्द्रीय कार्यालयको डिजिटल सहायता केन्द्रका नम्बरहरू ९७१२०५६३५१ र ९७१२०५६३५२ मा सम्पर्क गरेर पनि समस्या समाधान गर्न सकिने जनाइएको छ। सदस्यहरूले ती नम्बरमा फोन गरी सोधिने प्रश्नावलीको उत्तर दिएर फोनबाटै पनि अद्यावधिक फारम भर्न सक्ने सुविधा उपलब्ध गराइएको छ।
यो व्यवस्था विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूका लागि पनि लागू हुने समितिले स्पष्ट पारेको छ। तोकिएको समयभित्र सदस्यता अद्यावधिक नगर्ने र कांग्रेस परिचयपत्र (एनसी आईडी) प्राप्त नगर्ने व्यक्तिले पार्टीको आगामी १५औँ महाधिवेशन प्रक्रियामा सहभागी हुन नपाउने विधानको व्यवस्थालाई स्मरण गराउँदै समितिले समयमै प्रक्रिया पूरा गर्न मातहतका तहलाई निर्देशन दिएको छ।
प्रेस विज्ञप्ति
नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठक पार्टीका महामन्त्री एवं संयोजक श्री प्रदीप पौडेलको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा आज बस्यो । बैठकले क्रियाशील सदस्यता वितरण, छुट नवीकरण र अद्यावधिक सम्बन्धी कार्य २०८३ जेठ २१ गते भित्र अनिवार्य रूपमा सम्पन्न गर्नु पर्ने निर्णय गरेको छ ।
सदस्यता व्यवस्थापन केन्द्रीय समितिले क्रियाशील सदस्यताको अभिलेखीकरणलाई डिजिटल रुपमा सबैभन्दा बलियो सदस्य नेटवर्क भएको पार्टी बनाउनका लागि विभिन्न डिजिटल माध्यम प्रयोगमा ल्याएको छ ।
* नेपाली कांग्रेसका प्रत्येक क्रियाशील सदस्यले आफ्नै मोवाइलबाट अनलाइन मार्फत फारम भरी अद्यावधिक गर्न सकिने व्यवस्था गरिएको छ । यसका लागि नेपाली कांग्रेसको सदस्यता पोर्टलमा ‘स्वयं सदस्यता आवेदन फारम’ उपलव्ध गराइएको छ ।
* अनलाइन मार्फत अद्यावधिक गर्दा कुनै समस्या भएमा ९७०१२५५५५५ मा सम्पर्क गरेर एआई साथीसंग सहयोग लिन सकिने व्यवस्था गरिएको छ ।
* केन्द्रीय कार्यालयको डिजिटल सहायता केन्द्रको नम्वर ९७१२०५६३५१ र ९७१२०५६३५२ मा सम्पर्क गरेर पनि समस्याको समाधान गर्न सकिने व्यवस्था गरिएको छ । साथै, ९७०१२५५५५५ मा सम्पर्क गर्दा सोधिने प्रश्नावलीको उत्तर दिएर पनि फोनबाटै अद्यावधिकको फारम भर्ने व्यवस्था पनि मिलाइएको छ ।
* नेपाली कांग्रेससँग आवद्ध विदेश स्थित ‘नेपाली जनसम्पर्क समिति’ हरुका लागि पनि ‘स्वयं सदस्यता आवेदन फारम’ उपलव्ध गराइएको छ ।
सदस्यता अद्यावधिक नगर्ने र कांग्रेस परिचयपत्र (NC ID) प्राप्त नगर्ने व्यक्तिले १५ औं महाधिवेशनको प्रक्रियामा सहभागि हुन नपाउने विधानमा व्यवस्था रहेकोले तोकिएको समयावधि भित्रै अद्यावधिक गर्नु/गराउनु हुन मातहत तहलाई सदस्यता व्यवस्थापन केन्द्रीय समितिले निर्देशन गरेको छ ।
कृष्णप्रसाद दुलाल
का.वा. मुख्य सचिव





