काठमाडौँ। इन्धनसहित निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिको विरोधमा नेपाल निर्माण व्यवसायी महासंघले सडक विभाग र सिँचाइ विभागमा ज्ञापनपत्र बुझाउँदै धर्ना दिएको छ ।
निर्माण सामग्रीको मूल्य आकाशिँदा देशभरका आयोजना प्रभावित भए पनि सरकारले चासो नदिएको भन्दै महासंघ र त्यसअन्तर्गतका एशोसिएट सदस्य समन्वय समितिले बिहीबार आन्दोलनका कार्यक्रम अघि बढाएका हुन् ।
व्यवसायीहरूले सडक विभागका महानिर्देशक विजय जैसी र सिँचाइ विभागका उपमहानिर्देशक सन्तोष कैनीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघका महासचिव शिवहरि घिमिरेले सरकारले माग सम्बोधन नगरेकाले आन्दोलनमा उत्रिन बाध्य भएको बताए ।
उनका अनुसार इन्धन, सिमेन्ट, डण्डी, बालुवा तथा बिटुमिनलगायत निर्माण सामग्रीको मूल्यवृद्धिले व्यवसायी चरम संकटमा परेका छन् ।
घिमिरेले बढेको बजार मूल्यअनुसार ठेक्काको रकम समायोजन गर्न, रोकिएका आयोजनाको म्याद २०८४ असारसम्म थप गर्न तथा आगामी बजेटमा स्पष्ट भुक्तानी व्यवस्था गर्न सरकारसँग माग गरे ।
उनले भने, ‘मूल्य समायोजन हुनुपर्छ । तर अहिलेसम्म त्यो विषय समाधान हुन सकेको छैन । अहिलेको अत्यधिक मूल्यवृद्धि व्यवसायीले थेग्न सक्ने अवस्था छैन । त्यसैले आजदेखि देशभरका सम्पूर्ण निर्माण कार्य ठप्प गर्ने निर्णय गरेका छौँ ।’
आन्दोलनकै क्रममा व्यवसायीमाथि भइरहेको धरपकडप्रति पनि उनले आपत्ति जनाए । अनुसन्धानको नाममा व्यवसायीलाई दुःख दिँदा लगानीको वातावरण बिग्रने उनले बताए ।
महासंघले ७७ ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम समेत तय गरेको जनाएको छ ।
निर्माण व्यवसायीहरूले मूल्य समायोजन निर्देशिका तत्काल लागू गर्न, मूल्यवृद्धिबाट परेको असरमा सहुलियत दिन तथा रुग्ण आयोजनाको समस्या समाधान नगरेसम्म काम अघि नबढाउने चेतावनी दिएका छन् ।





