Nidan Media

प्रधानन्यायाधीश सिफारिसविरुद्ध उजुरी आह्वान, ७७ ओटै जिल्ला प्रशासनमार्फत पठाउन सकिने

काठमाडौं । सङ्घीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश डा. मनोज कुमार शर्मा विरुद्ध आगामी जेठ ४ गतेसम्म उजुरी दिन सकिने निर्णय गरेको छ ।

शुक्रबार बसेको समितिको बैठकले संवैधानिक परिषद्बाट प्रधान न्यायाधीशका लागि सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउँदै उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

समितिका सभापति बोध नारायण श्रेष्ठले संवैधानिक परिषद्बाट सर्वोच्च अदालतको प्रधान न्यायाधीश पदका लागि डा. मनोज कुमार शर्माको नाम २०८३ चैत २५ गते समितिमा प्राप्त भएको जानकारी दिए । त्यसपछि समितिले १० दिनको समयसीमा निर्धारण गर्दै जेठ ४ गतेसम्म उजुरी संकलन गर्ने निर्णय गरेको उनले बताए ।

उनका अनुसार समितिको सचिवालयमा सिधै उजुरी बुझाउन सकिनेछ भने विद्युतीय माध्यमबाट पनि पठाउन सकिने व्यवस्था गरिएको छ । साथै खामबन्दी गरेर सिंहदरबारमा पठाउन सकिने र ७७ ओटै जिल्ला प्रशासन कार्यालयमार्फत पनि उजुरी पठाउन सकिने व्यवस्था गरिएको उनले जानकारी दिए ।

सभापति श्रेष्ठले नाम उल्लेख गरेर वा बेनाम दुवै प्रकारले उजुरी दिन सकिने उल्लेख गर्दै प्रमाणसहित उजुरी पठाउन आग्रह गरिएको बताए ।

समितिले जेठ ५ गते पुनः बैठक बोलाएको छ । उक्त बैठकमा प्राप्त उजुरीहरूको अध्ययन गरी सदस्यहरूलाई वितरण गरिनेछ । त्यसपछि सुनुवाइ प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा प्रक्रियागत निर्णय गरिने समितिले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.