काठमाडौँ । स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा आज पुनः उल्लेख्य वृद्धि भएको छ।
बिहीबारको तुलनामा सुन प्रतितोला रु एक हजार तीन र चाँदी प्रतितोला रु १२० ले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ९९ हजार ९०० कायम भएको छ, जुन ऐतिहासिक रूपमा ३ लाख नजिक पुगेको हो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला रु ५ हजार २७५ पुगेको छ।
पछिल्ला केही दिनदेखि सुनचाँदीको मूल्य निरन्तर उकालो लागिरहेको देखिएको छ। बिहीबार छापावाल सुन प्रतितोला रु २ लाख ९८ हजार ६०० र चाँदी रु ५ हजार १५५ मा कारोबार भएको थियो भने बुधबार सुन रु २ लाख ९६ हजार ८०० र चाँदी रु ५ हजार ०५० मा खरिदबिक्री भएको थियो।
व्यवसायीहरूले अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावका कारण स्थानीय बजारमा मूल्य बढेको बताएका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज विश्व बजारमा सुन प्रतिऔँस ४,७१५ अमेरिकी डलर र चाँदी प्रतिऔँस ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।





