काठमाडौँ। नेपाली बजारमा केही दिनदेखि लगातार घटेको सुनचाँदीको भाउ बुधबार भने ह्वात्तै बढेको छ। मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा पाँच हजार आठ सय र चाँदीको एक सय ७५ रुपैयाँ बढेको हो ।
मूल्य बढेसँगै बुधबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ९६ हजार आठ सय र प्रति १० ग्रामको दुई लाख ५४ हजार चार सय ६० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।
यसअघि मंगलबार सुनको भाउ प्रतितोला दुई लाख ९१ हजार र प्रति १० ग्रामको दुई लाख ४९ हजार आठ सय ८५ रुपैयाँ रहेको थियो।
यता, मंगलबार प्रतितोला चार हजार आठ सय ८० र प्रति १० ग्रामको चार हजार एक सय ८४ रुपैयाँ कायम भएकोे असली चाँदीको भाउ बुधबार बढेर प्रतितोला पाँच हजार ५५ र प्रति १० ग्रामको चार हजार तीन सय ३४ रुपैयाँ पुगेको छ ।
सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।





