काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षका निर्माण आयोजनाहरूको कामलाई तीव्रता दिन मातहतका निकायलाई निर्देशन दिएको छ। मन्त्रालयले निर्माण कार्यमा देखिँदै आएको ढिलासुस्ती अन्त्य गर्दै कार्यान्वयन प्रक्रिया प्रभावकारी बनाउन विशेष ध्यान दिन आग्रह गरेको छ।
मंगलबार जारी परिपत्रमा नियमित अनुगमन गर्न र प्रगति प्रतिवेदन अनिवार्य रूपमा पेस गर्न निर्देशन दिइएको छ। आयोजना कार्यान्वयनका क्रममा देखिने अवरोधहरू तत्काल पहिचान गरी सम्बन्धित निकायबीच समन्वय गरेर समाधान गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ।
त्यसैगरी, ठेक्का सम्झौताअनुसार हुने मूल्य समायोजन तत्काल कार्यान्वयन गर्न र कुनै समस्या भए मन्त्रालयमा जानकारी गराउन पनि भनिएको छ। कार्य गतिविधि सुचारु नभएमा सम्बन्धित आयोजना प्रमुख तथा निर्देशक जिम्मेवार हुने व्यवस्था मिलाउन समेत निर्देशन गरिएको छ।
निर्माण स्थलमा प्रगति कमजोर देखिएमा कार्यालय प्रमुखलाई जिम्मेवार ठहर गर्ने व्यवस्था गर्न पनि मन्त्रालयले स्पष्ट पारेको छ। मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलका अनुसार यो कदमले विकास आयोजनाहरू समयमै सम्पन्न गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।





