काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक श्रृङ्खलाको चौथो तथा अन्तिम खेलमा नेपालले ओमानसँग खेलिरहेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले जितका लागि ओमानलाई २५७ रनको चुनौती दिएको छ ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १ बल खेल्न बाँकी छँदै अलआउट भएर २५६ रन बनायो ।
आशिफ शेख ९४ रन बनाएर आउट भए । उनी छक्का हानेर शतक बनाउने मोह राख्दा क्याच आउट भएका हुन् । आशिफले ९७ बलमा ५ छक्का र ७ चौकाको मद्धतले ९४ रन बनाउँदा दोस्रो शतक बनाउन चुके ।
त्यस्तै आरिफ शेखले २४ बलमा ४३ रन बनाए । उनले अन्तिम ओभरमा लगातार तीन छक्का हानेका थिए ।
अर्जुन कुमाल ८७ बलमा ४८ रन बनाएर आउट भए । दिपेन्द्र सिंह ऐरीले ४२ बलमा ३३ रन बनाए । गुल्सन झाले २३ बलमा १७ रन बनाए ।
कप्तान रोहित पौडेल फेरि फ्लप सावित भए । उनले १६ बलमा नौ रनमात्र बनाए । विनोद भण्डारी डकआउट (पहिलो बलमै) भए ।
यो श्रृंखलामा पहिलो खेलमा ओमानसँग १०२ रनको फराकिलो हार बेहोरेको नेपाल आजको खेल जितेर बदला लिन चाहन्छ । त्यसैले पनि नेपालका लागि आजको खेल महत्वपूर्ण छ ।
यो श्रृंखलामा नेपालले यसअघि भएका तीन खेलमा यूएईलाई दुवै खेलमा हरायो भने ओमानसँग पराजित भएको थियो ।
तेस्रो खेलमा नेपालले यूएईमाथि मात्र छ रनको सनसनीपूर्ण जित हासिल गरेको थियो । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले उपकप्तान दिपेन्द्र सिंह ऐरीको शानदार शतकको मद्धतले ७ विकेटको क्षतिमा २८९ रन बनायो ।
ऐरीले ९४ बलमा १०० रन बनाएका हुन् । विनोद भण्डारिले ७९ बलमा ५६, गुल्सन झाले ३८ बलमा ४४ तथा कप्तान रोहित पौडेलले ४८ बलमा ३९ रन बनाए ।
जवाफमा वर्षाले प्रभावित खेलमा ३८ ओभरमा २५५ रनको चुनौती पाएको यूएईले ८ विकेटको क्षतिमा २४८ रन बनाएपछि ६ रनले पराजित भयो ।
मुहुम्मद शहदादले ६५ तथा खुजैमा तन्वीरले २६ बलमा ४९ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले ३ तथा सोमपाल कामि र नन्दन यादवले समान २ विकेट लिए ।
यसअघिको खेलमा नेपालले यूएईमाथि ३७ रनको रोमाञ्चक जित हासिल गरेको थियो ।
दोस्रो खेलमा ओमानसँग नेपालले लज्जास्पद हार बेहोरेको थियो । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ८ विकेटको क्षतिमा ३०५ रन बनायो । कप्तान जतिन्दर सिंहले ओमानका लागि अहिलेसम्मकै उत्कृष्ट ब्याटिङ गर्ने क्रममा ९६ बलमा १३० रन जोडे । उनले १५ चौका र ५ छक्का हानेका थिए ।
त्यस्तै जितेन रामआन्नदीले ४३ बलमा ४३ रन बनाए । सोमपाल कामिले ४ तथा सन्दीप लामिछाने र दिनेन्द्र सिंह ऐरीले समान २ विकेट लिए ।
जवाफमा वर्षाले प्रभावित खेलमा डक वर्थ लेविस नियमअनुसार नेपाल १०२ रनले पराजित भयो । नेपालले ३६ ओभर ५ बल खेल्दा ७ विकेटको क्षतिमा १५५ रनमात्र बनाउन सक्यो ।
वर्षाले २५८ रनको नयाँ चुनौतीमा नेपाल निकै पछाडि परेको हो । दिपेन्द्रले ६२ बलमा ६० रन बनाएको इनिङ्समा अन्य कुनै ब्याटरले उल्लेखनीय खेल्न सकेनन् । फर्ममा नभएका कप्तान रोहित पौडेलले २३ बलमा १० रनमात्र जोड्न सके ।
अंक तालिकामा २४ खेलबाट ३६ अंकसहित अमेरिका शीर्ष स्थानमा छ । २८ खेलबाट ३४ अंकसहित स्कटल्याण्ड दोस्रो स्थानमा छ ।
२७ खेलबाट ३१ अंकसहित ओमान तेस्रो, २४ खेलबाट २८ अंकसहित नेदरल्याण्डस् चौथो, २८ खेलबाट २२ अंकसहित नामिबिया पाँचौँ तथा २४ खेलबाट २१ अंकसहित क्यानाडा छैटौँ स्थानमा छ ।
२३ खेलबाट १६ अंकसहित नेपाल सातौँ तथा २४ खेलबाट १४ अंकसहित यूएई पुछारमा छ । नेपालका लागि आफूभन्दा माथिल्लो तालिकामा रहेका नामिबिया र क्यानाडालाई उछिन्न काठमाडौँका लगातार दुई श्रृंखलाका आठमध्ये कम्तीमा पाँच खेलमा जित अनिवार्य छ ।





