Nidan Media

अर्थमन्त्री वाग्ले भन्छन् – राजनीतिमा पुस्तान्तरण भइसक्यो, अब निजी क्षेत्रले पनि सोच बदल्नुपर्छ

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको राजनीतिक नेतृत्वमा अभूतपूर्व पुस्तान्तरण भएको भन्दै अब निजी क्षेत्रले पनि आफ्नो कार्यशैली र सोचमा परिवर्तन गर्नुपर्ने बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले ३६ वर्षका प्रधानमन्त्रीले देशको नेतृत्व गर्नु र आफू ५० वर्षको उमेरमा मन्त्रिपरिषद्को सबैभन्दा ‘वरिष्ठ सदस्य’ हुनुले ठूलो परिवर्तनको संकेत दिएको बताए।

उनले नेपालमा लामो समयदेखि जरा गाडेको विचौलिया प्रवृत्ति, पहुँच र भनसुनका आधारमा काम हुने संस्कृति तथा भ्रष्टाचारप्रति वर्तमान सरकार कडा रूपमा प्रस्तुत हुने स्पष्ट पारे।

“अब पहुँच र भनसुनका आधारमा मात्र काम हुने अवस्था अन्त्य हुन्छ,” उनले भने।

वाग्लेले प्रशासनिक र नियामक प्रणालीमा रहेको जटिलता र अनिश्चितताका कारण इमान्दार उद्यमीलाई व्यवसाय गर्न कठिन अवस्था रहेको उल्लेख गर्दै अब त्यसलाई अन्त्य गर्ने सरकारको लक्ष्य रहेको बताए।

उनका अनुसार नियामक निकाय र कर्मचारीतन्त्रले निष्पक्ष र पारदर्शी वातावरण बनाउनुपर्ने आवश्यकता छ।

उनले निजी क्षेत्रको सहभागिता बिना देशको विकास सम्भव नहुने स्पष्ट पार्दै सरकार र निजी क्षेत्रबीच सहकार्य अनिवार्य रहेको बताए। तर त्यसका लागि निजी क्षेत्रले पनि पुराना बानी र कार्यशैली परिवर्तन गर्नुपर्ने उनको जोड थियो।

“हामीले निजी क्षेत्रसँग मिलेर अघि बढ्नुपर्छ। तर निजी क्षेत्रले पनि आफ्नो माइन्डसेट र एप्रोच परिवर्तन गर्नुपर्छ,” उनले भने।

अर्थमन्त्री वाग्लेले सरकारले प्रविधिको प्रयोग, सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्दै व्यवसायिक वातावरण सुधार गर्ने प्रतिबद्धता जनाए।

उनले सरकार जनअपेक्षाअनुसार अघि बढ्ने र आफ्नो राजनीतिक एजेण्डा तथा घोषणापत्रका आधारमा नीति निर्माण गरिने पनि स्पष्ट पारे।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.