पोखरा। इरानले मध्यस्थकर्ता पाकिस्तानमार्फत संयुक्त राज्य अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव अघि सारेको छ ।
इरानको आधिकारिक समाचार एजेन्सीका अनुसार “इस्लामिक गणतन्त्र इरानले अमेरिकासँगको वार्ताको क्रममा मध्यस्थकर्ताको रूपमा पाकिस्तानलाई बिहीबार साँझ आफ्नो पछिल्लो वार्ताको प्रस्तावको पाठ बुझाएको छ।”
नयाँ प्रस्तावमा के-के समावेश गरिएको छ भन्ने विषय तत्काल सार्वजनिक गरिएको छैन । करिब ४० दिनदेखिको तनाव र त्यसपछिको युद्धविरामपछि इरान र अमेरिकाबीच एक चरण मात्र वार्ता भएको थियो ।
वार्ता रोकिनुको प्रमुख कारणका रूपमा दुवै पक्षबीचको अविश्वास देखिएको छ । अमेरिकाले इरानी बन्दरगाहहरूमा नौसैनिक नाकाबन्दी लगाएको आरोप लगाउँदै इरान वार्तामा सहभागी हुन अनिच्छुक बनेको थियो ।
यता, अमेरिकाले भने इरानले स्ट्रेट अफ हर्मुजलाई आंशिक रूपमा बन्द गरेको भन्दै उक्त जलमार्ग खुला गर्न दबाब दिँदै आएको छ । युद्ध शुरू भएयता सो जलमार्गबाट सीमित जहाजहरूलाई मात्र आवागमनको अनुमति दिइएको बताइएको छ ।
यसैबीच, अब्बास अराघचीले शुक्रबार साउदी अरब, कतार, टर्की, इराक र अजरबैजानका विदेशमन्त्रीहरूसँग टेलिफोन वार्ता गर्दै युद्ध अन्त्यका लागि इरानले अघि सारेको पछिल्लो पहलबारे जानकारी गराएका छन् ।





