Nidan Media

आफ्नै बुबाको हत्या गरी १८ वर्ष फरार रहेका राम विलास पक्राउ

रौतहट । आफ्नै बुबाको हत्या गरी लामो समयदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले १८ वर्षपछि पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार रौतहटको गरुडा नगरपालिका-१ का ४९ वर्षीय राम विलास महतोलाई चितवनबाट नियन्त्रणमा लिइएको हो।

प्रहरी अनुसन्धानअनुसार २०६४ जेठ २० गते राति साबिक जयनगर गाविस-४ स्थित गोठघरमा ६५ वर्षीय विश्वेश्वर महतो कोइरीको हातखुट्टा बाँधेर धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो। घटनापछि अभियुक्त महतो सपरिवार फरार भएका थिए।

प्रारम्भिक अनुसन्धानले हत्या ऋण र जग्गा विवादसँग जोडिएको देखाएको छ। प्रहरीले जनाएको छ, राम विलासले गाउँका विभिन्न व्यक्तिसँग ऋण लिएका थिए भने जग्गा खिचोला सम्बन्धी मुद्दा अदालतमा विचाराधीन थियो।

मुद्दाको खर्च जुटाउन नसकेपछि उनले आफ्नै बुबाको हत्या गरी विपक्षीहरूलाई ज्यान मुद्दामा फसाउने योजना बनाएको खुलेको प्रहरीले दाबी गरेको छ। विपक्षीहरू जेल परेमा ऋण तिर्नु नपर्ने र जग्गा विवाद पनि आफूअनुकूल हुने उनको उद्देश्य रहेको अनुसन्धानबाट देखिएको छ।

घटनापछि शंका नपरोस् भनेर उनी लामो समय लुकिछिपी बस्दै आएका थिए। प्रहरीले निरन्तर खोजतलास र सूक्ष्म अनुसन्धानका क्रममा उनलाई २०८३ वैशाख १६ गते चितवनमा फेला पारेर पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विष्णु प्रदीप बस्याल ले पक्राउ परेका महतोमाथि थप कानुनी प्रक्रिया अघि बढाइएको बताएका छन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.