Nidan Media

गोकुलगंगा गाउँपालिकामा आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन

रामेछाप। रामेछापको गोकुलगंगा गाउँपालिकाले केन्द्र सरकारको शनिबार-आइतबार दुई दिने सार्वजनिक बिदा निर्णयलाई अस्वीकार गर्दै आइतबारदेखि सबै कार्यालय र विद्यालय खुला राख्ने घोषणा गरेको छ ।

गाउँकार्यपालिकाको वैशाख १५ गतेको निर्णयअनुसार पालिकाभित्रका सबै सरकारी कार्यालय, वडा कार्यालय, विद्यालय तथा स्वास्थ्य संस्थाहरू आइतबार पनि नियमित सञ्चालन हुनेछन् । सेवा बिहान १० बजेदेखि सञ्चालन गरिनेछ ।

पालिकाले हप्तामा दुई दिन बिदा दिँदा विद्यार्थीको पाठ्य घण्टा पूरा नहुने र शैक्षिक गुणस्तर कमजोर हुने दाबी गरेको छ । दुर्गम भौगोलिक अवस्था र न्यून इन्धन खपतको नाममा गरिएको बिदा व्यवस्था यहाँ व्यवहारिक नभएको पनि जनाएको छ ।

स्वास्थ्य संस्थाहरू बन्द हुँदा दुर्गमका बिरामी उपचारबाट वञ्चित हुने र आकस्मिक सेवा प्रभावित हुने भन्दै निरन्तर सेवा आवश्यक रहेको उल्लेख गरिएको छ ।

गाउँपालिका अध्यक्ष काजीबहादुर खड्काले निर्णय कार्यान्वयनमा सबै पक्षलाई सहयोग गर्न आग्रह गरेका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.