काठमाडौँ। मौसमविद्हरूले आज र भोलि देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको बताएका छन् । यसबाट हवाई तथा सडक यातायात प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका जिल्लालाई पहेँलो रंगको चेतावनी संकेत दिँदै मौसमको पछिल्लो जानकारी लिएरमात्र कामकाज गर्न आग्रह गरेको छ ।
मौसमविद् सरोज पुडासैनीले वैशाख १५ र १६ गते कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षा हुन सक्ने जानकारी दिएका छन् ।
हिमाली क्षेत्रमा मध्यम हिमपातको सम्भावना पनि रहेको उनले बताए । उनले भने, ‘मौसमको अवस्था बदलिँदै जाने भएकाले पहाडी र हिमाली क्षेत्रका बासिन्दाले अद्यावधिक जानकारी लिएर मात्रै काम गर्नुपर्छ ।’
उनका अनुसार वैशाख १५ गते देशभरका सबै प्रदेशमा मध्यम वर्षाको सम्भावना छ भने कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा वा हिमपात हुन सक्ने छ ।
यस्तै, वैशाख १६ गते पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा वा हिमपातको सम्भावना छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि वर्षा हुन सक्ने विभागले जनाएको छ । सो दिन कोशी, मधेस तथा बागमती र गण्डकीका पहाडी क्षेत्रका केही स्थानमा भारी वर्षा हुने सम्भावना पनि छ ।
यो वर्षाले हाल देखिएको गर्मी, डढेलो र वायु प्रदूषण केही कम हुने मौसमविद्हरूको भनाइ छ । केही दिनयता पश्चिम तराईमा पानी नपरेर बढेको गर्मी यो वर्षाले घट्ने अनुमान गरिएको छ ।
विभागका अनुसार अहिले गण्डकी प्रदेशका लमजुङ, कास्की, पर्वत, स्याङ्जा तथा बागमतीको नुवाकोटका केही स्थानमा वर्षा भइरहेको छ । लमजुङको बेँसीसहरमा एक घण्टामै १२.२ मिलिमिटर वर्षा मापन भएको छ, जुन मध्यम वर्षा मानिन्छ ।





